२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

अध्ययन बिदा दुरुपयोग गर्ने ४४ प्राध्यापकबाट ११ करोड रुपैयाँ असुल



त्रिभुवन विश्वविद्यालय बाट अध्ययन बिदा लिएर निर्धारित समयपछि सेवामा नफर्किएका ४४ जना प्राध्यापकले हालसम्म करिब ११ करोड रुपैयाँ फिर्ता गरेका छन् ।

अध्ययन बिदा दुरुपयोगका कारण विश्वविद्यालयलाई २ अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति पुगेको विषय सार्वजनिक भएपछि त्रिभुवन विश्वविद्यालयले छानबिन प्रक्रिया अघि बढाएको थियो । त्यसक्रममा डा. जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले ३९८ जना प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनपछि विश्वविद्यालयले अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूलाई तलब–भत्ता तथा अन्य सुविधा रकम ब्याजसहित फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेको थियो । सोही सूचनापछि हालसम्म ४४ जना प्राध्यापकले ११ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता गरिसकेको समितिका संयोजक डा. काफ्लेले जानकारी दिए ।

उनका अनुसार रकम फिर्ता गर्ने प्रक्रियाका लागि ६१ जना प्राध्यापकले निवेदन दिइसकेका छन् । रकम फिर्ता गर्न बाँकी रहेका व्यक्तिहरूलाई सम्पर्कमा आउन आग्रह गरिएको छ ।

छानबिन प्रतिवेदनपछि त्रिविले डा. काफ्लेकै संयोजकत्वमा हेल्प डेस्क गठन गरेको छ । उक्त डेस्कले रकम असुली, सम्बन्धित प्राध्यापकहरूसँग समन्वय तथा आवश्यक जानकारी उपलब्ध गराउने काम गरिरहेको छ ।

अध्ययन बिदा अवधिमा विश्वविद्यालयको सेवा पूरा नगरेका केही वर्तमान सांसदहरूले समेत रकम फिर्ता गरेका छन् । डा. आनन्द चन्द र जगत तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालयलाई तलब–भत्ता फिर्ता गरेका हुन् ।

कैलाली–५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. चन्दले गत चैत ३० गते ४४ लाख ५६ हजार रुपैयाँ फिर्ता गरेका छन् भने गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित सांसद तिमिल्सिनाले वैशाख २ गते ३३ लाख ५० हजार रुपैयाँ बुझाएका छन् ।

त्रिभुवन विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवा सम्बन्धी नियम, २०५० अनुसार अध्ययन बिदा लिएर उच्च अध्ययन पूरा गरेका शिक्षकले बिदा अवधिको अनुपातमा न्यूनतम सेवा अवधि पूरा गर्नुपर्ने व्यवस्था छ । तीन वर्ष अध्ययन बिदा लिनेले कम्तीमा तीन वर्ष र पाँच वर्षसम्म बिदा लिनेले कम्तीमा पाँच वर्ष विश्वविद्यालयमा सेवा गर्नुपर्ने हुन्छ ।

तर अध्ययन बिदा सकिएपछि धेरै प्राध्यापक विदेशमै बस्ने वा अन्यत्र रोजगारीमा जाने गरेको पाइएको छ । अध्ययन बिदा लिँदा सेवामा नफर्किए तलब–भत्ता १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने कबुलियतनामा गरिए पनि धेरैले उक्त दायित्व पूरा नगरेको छानबिनबाट खुलेको छ ।

यस विषयमा सरकारले समेत चासो व्यक्त गरेको छ । सस्मित पोखरेल ले अध्ययन बिदाको दुरुपयोग रोक्ने अभियानलाई उच्च शिक्षा क्षेत्रमा सुशासन, पारदर्शिता र जवाफदेहिता स्थापित गर्ने महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदान गरिने सुविधा भएको उल्लेख गरेका छन् । तर सार्वजनिक स्रोतबाट उपलब्ध गराइएको अवसरको दुरुपयोग गरी सेवामा नफर्किने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा नैतिक क्षति पुर्‍याएको उनको भनाइ छ ।

उनले छानबिन र कानुनी प्रक्रियाबाट रकम फिर्ता हुने क्रम तीव्र बनेको उल्लेख गर्दै यसलाई सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने तथा उच्च शिक्षा प्रणालीप्रति नागरिकको विश्वास मजबुत बनाउने महत्वपूर्ण उपलब्धि बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयले रकम फिर्ता गर्न अझै बाँकी रहेका प्राध्यापकहरूलाई पुनः सार्वजनिक सूचना जारी गर्ने तथा अटेर गरेमा थप कानुनी कारबाही अघि बढाउने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ९ : १५ बजे