२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छासहितमाथि चार कसुरमा मुद्दा दायर हुने तयारी



व्यवसायीहरू दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा लगायतमाथि बिमा, धितोपत्र, सम्पत्ति शुद्धीकरण तथा बैंकिङ कसुर सम्बन्धी चार वटा अभियोगमा मुद्दा चलाउने तयारी गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिमा तथा धितोपत्र सम्बन्धी कसुरमा अनुसन्धान सम्पन्न गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइसकेको छ भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन उच्च सरकारी वकिल कार्यालय पाटनमा पेश गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सोमकान्त भण्डारी का अनुसार सीआईबीबाट प्राप्त प्रतिवेदनहरू अध्ययन गरी अभियोजनको तयारी भइरहेको छ । उनले कानुनी म्यादभित्रै अभियोग दायर गरिने बताएका छन् ।

सीआईबीले बिमा सम्बन्धी कसुरमा ४० भन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । अनुसन्धान प्रतिवेदन अनुसार दीपक भट्ट, सुलभ अग्रवाल, साहिल अग्रवाल, शेखर गोल्छा, ऋषिराज मोर र सन्दीप चासनसहितका व्यक्तिहरूलाई प्रतिवादी बनाउन राय दिइएको छ ।

सीआईबीले बिमा सम्बन्धी कसुरमा कुल ४ अर्ब ६५ करोड रुपैयाँ बिगो कायम गरेको छ । अनुसन्धानमा आठ वटा कम्पनीको संलग्नता देखिएको जनाइएको छ। तीमध्ये हिमालयन रिइन्सुरेन्स लिमिटेड ले मात्र २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अपचलन गरेको दाबी गरिएको छ ।

धितोपत्र सम्बन्धी कसुरमा सीआईबीले कम्तीमा ७५ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको छ । यसमा दीपक भट्ट, सुवि अग्रवाल र ऋषिराज मोर लगायत संलग्न रहेको उल्लेख गरिएको छ ।

अनुसन्धानबाट झुटा विवरण तयार गरी सेयर कारोबार गरेको, फर्जी कारोबारमार्फत बजार प्रभावित पारेको तथा आपसी कम्पनीहरूबीच कृत्रिम कारोबार गरेर सेयर मूल्य बढाएको निष्कर्ष निकालिएको छ । धितोपत्र ऐन, २०६३ अनुसार यस्तो आपसी कारोबार गैरकानुनी मानिन्छ ।

सीआईबीले उक्त कसुरमा करिब १ अर्ब रुपैयाँ बिगो कायम गर्नुपर्ने राय दिएको छ ।

सुलभ अग्रवालमाथि आफ्नो नाममा रहेको हिमालयन लाइफ इन्सुरेन्स लिमिटेडको सेयर बिक्री गर्न अंशबण्डाको नाटक गरेको आरोप पनि लागेको छ । उनले अदालतमा मिलापत्र गराई सेयर छोराको नाममा नामसारी गरी बिक्री गरेको आरोपमा धितोपत्र ऐन अन्तर्गत छुट्टै अनुसन्धान गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि भट्ट, अग्रवाल लगायतमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाएको छ । यस्तै सीआईबीले बैंकिङ कसुर सम्बन्धी अनुसन्धान पनि जारी राखेको जनाएको छ ।

सीआईबीका प्रमुख अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसी का अनुसार बैंकिङ कसुरको अनुसन्धान पूरा भएपछि विशेष अदालतमा छुट्टै मुद्दा दायर गरिनेछ ।

दीपक भट्ट चैत १९ गते काठमाडौंबाट पक्राउ परेका थिए भने सुलभ अग्रवाल चैत २१ गते पक्राउ परेका थिए । यस प्रकरणमा शेखर गोल्छालाई पनि पक्राउ गरी अनुसन्धान गरिएको थियो। तर उनी सर्वोच्च अदालतको आदेशपछि रिहा भइसकेका छन् ।

अनुसन्धान निकायहरूले अधिकांश प्रतिवादीहरूलाई बाहिरै राखेर अभियोग दायर गर्ने तयारी गरिरहेका छन् । मुद्दा दर्तापछि नेपालको वित्तीय तथा पुँजी बजारसँग सम्बन्धित पछिल्लो समयकै ठूलो आर्थिक अपराध प्रकरणमध्ये एकको न्यायिक प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ९ : २२ बजे