४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026

राप्रपाबाट छुट्टिएर बनेको जय नेपाल पार्टीको पहिलो केन्द्रीय समिति बैठकबाट १० निर्णय



काठमाडौं । जय नेपाल पार्टी (प्रस्तावित) को पहिलो केन्द्रीय कार्यसमिति बैठक १० वटा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। पार्टीका नेता सगुनसुन्दर लावतीका अनुसार सभापति डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले संगठन विस्तारदेखि संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा जनमत निर्माण गर्नेसम्मका निर्णय गरेको हो।

बैठकमा सभापति राणाले वर्तमान राजनीतिक परिस्थितिमा देश र जनताको भावनाअनुसार राष्ट्रवादी राजनीतिक शक्तिका रूपमा जय नेपाल पार्टीको उदय भएको बताएका थिए।

पार्टीको निर्णयमा भनिएको छ, ‘सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रको आधारशिलामा हिमाल, पहाड, तराईलाई एकसूत्रमा बाँधेर एकता, स्थिरता र समुन्नतिको लक्ष्य प्राप्त गर्ने पवित्र भावनाबाट जय नेपाल पार्टी जनतामाझ उभिएको छ।’

पार्टीले देशलाई माया गर्ने सबै नागरिक, युवालगायतलाई साथ, सहयोग र समर्थनका लागि आह्वानसमेत गरेको छ।

यस्ता छन् १० निर्णय

१. जिल्ला संगठन विस्तार गर्ने

भदौ र असोज महिनाभित्र ७७ वटै जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने निर्णय गरिएको छ। त्यसका लागि केन्द्रीय सदस्यहरूलाई समावेश गरेर टोली खटाइनेछ।

२. युवा, महिला र जेन–जी संगठन गठन गर्ने

भदौ महिनाभित्र युवा, महिला तथा जेन–जीसहितका जनवर्गीय संगठन, विभाग तथा समितिहरू केन्द्रीय तहमा गठन गर्ने निर्णय बैठकले गरेको छ।

३. संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर अभियान

पार्टीले संविधान निर्माणका क्रममा जनताबाट प्राप्त सुझावलाई बेवास्ता गरिएको दाबी गर्दै ती सुझावलाई पुनः सार्वजनिक बहसमा ल्याउने निर्णय गरेको छ।

संविधान संशोधनका लागि सरकारले राय–सुझाव संकलन गरिरहेको सन्दर्भमा संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यले निकट भविष्यमा चरणबद्ध रूपमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।

४. गौसंरक्षणका लागि दबाबमूलक कार्यक्रम

राष्ट्रिय जनावर गाईको संरक्षणलाई राष्ट्रिय दायित्वका रूपमा अघि बढाउने निर्णय पार्टीले गरेको छ।

गौहत्या र गाईको मासुको खपतमा रोक लगाउन राज्य तथा सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्ने उद्देश्यले भदौ महिनामा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ। अभियान तथा प्रदर्शनको नेतृत्व पार्टीका जनवर्गीय संगठनहरूले गर्नेछन्।

त्यसैगरी गाई संरक्षणका लागि सातवटै प्रदेशमा सुविधासम्पन्न गौशाला निर्माण गर्न राज्यलाई दबाब दिने र जनमत सिर्जना गर्ने निर्णय गरिएको छ।

५. अनलाइन सदस्यता प्रणाली बनाउने

पार्टी सदस्यता अनलाइनमार्फत लिन सकिने गरी भदौ महिनाभित्र विद्युतीय प्रणाली निर्माण गर्ने निर्णय भएको छ।

६. प्रशिक्षण सामग्री तयार गर्ने

पार्टीभित्र प्रशिक्षण सञ्चालनका लागि आवश्यक सामग्री तयार गर्न कार्यदल गठन गर्ने निर्णय बैठकले गरेको छ।

७. विदेशमा रहेका नेपालीलाई मतदान अधिकारका लागि दबाब

‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मान्यताअनुरूप विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार उपलब्ध गराउन सरकारमाथि दबाब सिर्जना गर्ने निर्णय गरिएको छ।

८. समान विचार भएका समूहलाई गोलबन्द गर्ने

जय नेपाल पार्टीसँग विचार मिल्ने राजनीतिक दल, संगठन, समूह, अभियान तथा व्यक्तिहरूलाई पार्टीमा गोलबन्द गर्न वार्ता समिति गठन गर्ने निर्णय भएको छ।

९. स्थानीय निर्वाचनका लागि उम्मेदवार आह्वान

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक योग्य, लोकप्रिय तथा सक्षम नागरिकहरूलाई सार्वजनिक आह्वान गर्ने निर्णय गरिएको छ।

१०. स्थिर र समुन्नत नेपाल निर्माणको मार्गचित्र बनाउने

जय नेपाल पार्टीका नीति, विचार र लक्ष्यलाई आधार बनाएर स्थिर र समुन्नत नेपाल निर्माणको मार्गचित्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय भएको छ।

मार्गचित्र निर्माणका क्रममा स्वदेश तथा विदेशमा रहेका विभिन्न विषयका विज्ञ नेपालीहरूको सहयोग तथा परामर्श लिने पार्टीले जनाएको छ।

७९ केन्द्रीय सदस्यको नाम बैठकको माइन्युटमा

नवगठित जय नेपाल पार्टीले गत २९ साउनमा निर्वाचन आयोगमा दल दर्ता गर्दा ७९ जना केन्द्रीय सदस्यको नाम बुझाएको थियो। सभापति डा. धवलशमशेर राणाबाहेक अन्य सबैलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ।

पहिलो केन्द्रीय समिति बैठकको माइन्युटमा ७९ जना केन्द्रीय सदस्यको नाम समावेश गरिएको भए पनि केही सदस्यले माइन्युटमा हस्ताक्षर नगरेको बताइएको छ।

केन्द्रीय सदस्यहरू

पार्टीका केन्द्रीय सदस्यमा डा. धवलशमशेर राणा, मुकुन्दश्याम गिरी, दिलविकास राजभण्डारी, नारायणप्रसाद कोइराला, कर्णबहादुर शाही, केशवराज श्रेष्ठ, नवराज सिम्खडा, सगुनसुन्दर लावती, धनसुर शाही, सुरेश आचार्य, प्रज्वल बोहरा, चिरागमान सिंह कुँवर, शशांकशमशेर थापा, रञ्जन कार्की, फणिराज लोहनी, प्रकाशजंग कार्की, उदयराज पोखरेल, रामराज कोइराला, लालगोपाल आचार्य, खड्कबहादुर घिमिरे, कालीबहादुर शाही, महेन्द्रजंग शाह, शशिकुमार सिलवाल, किरण ढुंगेल, प्रभातनाथ योगी र निराज बम रहेका छन्।

त्यसैगरी केदारबहादुर धमला, जनकबहादुर सिंह, दमन बस्नेत, प्रेम देशार, विकास कपाली, यादवराज पाण्डे, ठमानसिंह तामाङ, पशुपति कठायत, होमनाथ गौतम, जयप्रकाश बगाले, इश्वरीप्रसाद भट्टराई, मनसुर सुनार, रामनरेश यादव, भीमबहादुर शाही, नबोदित गिरी, प्रेमचन्द, विश्वदेव शाह, चेतनाथ थापा, कृष्णबहादुर बस्नेत, शरानकुमार सिंह, पवित्रा सुब्बा, मिना हाही, राधाकुमारी शाह, उमा श्रेष्ठ, लक्ष्मीकुमारी हमाल, राधिका जोशी, समृद्धि राज्यलक्ष्मी राणा, सुमिरा, अञ्जना शाह रावल, रामदेवी महर्जन, बविना मोक्तान लावती, अञ्जकुमारी थपलिया, रेश्मा राणा, संगिता सिलवाल, उगुना शाही, सोनिसा रिजाल, सुश्मा रिजाल रेग्मी, शान्ताकुमारी चन्द, रमिता देशार, प्रमिला थापा श्रेष्ठ, बबि शाह, मनमाया बम्जन तामाङ, गोविन्दबहादुर बोगटी, अञ्जु श्रेष्ठ खत्री, प्रेमनाथ दुलाल, कविता आचार्य, कासिन्दा यादव, उमेशकुमार, नानीमैया आचार्य, चम्पादेवी अधिकारी, बेदबहादुर शाही, डा. गोविन्दप्रसाद आचार्य र शाइजन शेर्पा पनि केन्द्रीय सदस्य रहेका छन्।

जय नेपाल पार्टीले पहिलो बैठकबाटै संगठन विस्तार, वैचारिक अभियान र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राखेको छ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहिबार  १० : ३४ बजे