नेपाली युवा सुदीप रोकाया र कार्तिकेश मिश्रले सहसंस्थापन गरेको अमेरिकाको सानफ्रान्सिस्कोस्थित स्टार्टअप ‘लामिना ल्याब्स’ले थप लगानी भित्र्याएको छ । वाई कम्बिनेटरबाट सुरुमा ५ लाख डलर र पछि ३० लाख डलर सिड फन्डिङ पाएको यस कम्पनीले थप फलो–अन फन्डिङमार्फत हालसम्म कुल ४८ लाख अमेरिकी डलर लगानी जुटाइसकेको छ ।
कम्पनीका सहसंस्थापक सुदीप रोकायाका अनुसार लगानीकर्ताहरूमा वाई कम्बिनेटर र फाउन्डेसन क्यापिटल रहेका छन् भने लिंक भेन्चर्सले समेत आफ्नो २०२६ पोर्टफोलियोमा लामिना ल्याब्सलाई समावेश गरेको छ । नयाँ लगानीबाट प्राप्त रकम आफ्नो इन्जिनियरिङ टिमको विस्तार गर्न र प्रमुख प्रडक्ट ‘सिमी’ लाई स्केल अप गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।
लामिना ल्याब्सको प्रमुख प्रडक्ट ‘सिमी’ले प्रयोगकर्ताको टेक्स्ट प्रम्प्ट, डकुमेन्ट वा वेबसाइट लिंकलाई सेकेन्डभित्रै ह्वाइटबोर्ड–शैलीको एनिमेसन भिडियोमा रूपान्तरण गर्छ । नेपालीलगायत ८० भन्दा बढी भाषा सपोर्ट गर्ने यो प्रडक्टमार्फत युट्युब, टिकटक वा इन्स्टाग्राम रिल्सका लागि उपयुक्त भिडियो बनाउन सकिन्छ। सार्वजनिक भएको १२ दिनभित्रै ४ हजार प्रयोगकर्ता जोडिएको यस प्रडक्टमा हाल भुक्तानी गर्ने ग्राहकको संख्या १९० नाघिसकेको छ। सुरुमा शिक्षा क्षेत्रलाई लक्षित गरिए पनि अहिले अमेरिकाका साना तथा घरेलु व्यवसायीहरूले यसको प्रयोग धेरै गरिरहेका छन्।
अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय एमआईटीमा अध्ययनका क्रममा भेटिएका हुम्ला सिमीकोटका सुदीप रोकाया र रौतहटका कार्तिकेश मिश्र वाई कम्बिनेटरको स्प्रिङ २०२६ ब्याचमा छनोट हुने पहिलो पूर्ण–नेपाली संस्थापक टिम हुन् । कम्पनीको प्रडक्ट ‘सिमी’को नामकरण रोकायाको जन्मस्थान सिमीकोटकै आधारमा गरिएको हो ।









