१६ भाद्र २०८३, मंगलबार | Wed Sep 2 2026

बाढीपीडित शिविरमा स्वास्थ्य संकट, सुत्केरीदेखि दीर्घरोगीसम्म औषधि अभाव



भोटेकोशी बाढीपछि विस्थापित भएर राहत शिविरमा बसिरहेका सुत्केरी, गर्भवती, वृद्धवृद्धा तथा दीर्घरोगीहरू स्वास्थ्य उपचारबाट वञ्चित हुन थालेका छन् । बाढीले सडक तथा बजारसँगको सम्पर्क विच्छेद भएपछि शिविरमा औषधिको अभावसँगै संक्रमण फैलिने जोखिमसमेत बढेको छ ।

विदुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीका अनुसार कतिपय बिरामीलाई आफूले सेवन गर्दै आएको औषधिको नामसमेत थाहा छैन ।

‘धेरैलाई त कुन औषधि खाँदै थिए भन्ने पनि थाहा छैन। उनीहरूलाई रोगको नाम मात्र थाहा छ, औषधिको नाम थाहा छैन,’ भण्डारीले भने।

बाढीपछि नियमित सेवन गर्नुपर्ने औषधि छुटेकाले दीर्घरोगीहरूको अवस्था थप जटिल बन्न सक्ने उनले बताए। उनका अनुसार क्षयरोगीले नियमित सेवन गर्नुपर्ने औषधिसमेत स्वास्थ्य संस्थामा अभाव हुन थालेको छ ।

बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिमसमेत बढेको छ । भण्डारीका अनुसार देवीघाटनजिकै पीपलटार क्षेत्रमा भाइरल ज्वरोका बिरामी बढेका छन् । यस्तो संक्रमण अन्य क्षेत्रमा समेत फैलिन सक्ने जोखिम रहेको उनले बताए ।

‘बाढीमा आफन्त गुमाएकाहरूमा मनोसामाजिक समस्या पनि देखिन थालेको छ,’ भण्डारीले भने ।

सडक अवरुद्ध भएका कारण स्वास्थ्य संस्थासम्म औषधि पुर्‍याउनसमेत कठिनाइ भएको छ । खड्गभञ्ज्याङमा रहेको स्वास्थ्य केन्द्रमा औषधि पुर्‍याउन ड्रोनको प्रयोग गर्ने तयारी गरिएको छ ।

‘सोमबार ड्रोनबाट खड्गभञ्ज्याङको स्वास्थ्य केन्द्रमा औषधि पुर्‍याउने भनिए पनि सकेनौं । अब बुधबार पठाउने तयारीमा छौं,’ भण्डारीले भने, ‘त्यहाँसम्म पुग्ने सडक नभएकाले ड्रोनबाट औषधि पठाउन लागेका हौं ।’

शौचालयको अभाव

उत्तरगया गाउँपालिका–लहरेपौवास्थित शिवालय आधारभूत विद्यालयमा बनाइएको शिविरमा बस्ने विस्थापितहरूलाई आवाससँगै सरसफाइको समस्या पनि छ । शिविरको एउटै कोठामा करिब ३० जनासम्मलाई राखिएको छ भने त्यति धेरै मानिसका लागि जम्मा दुईवटा शौचालय छन् ।

बिहान–बेलुकाको खाना तथा दिउँसो चाउचाउ, बिस्कुट र फ्रुटी दिइने गरेको छ । शौचालयको संख्या कम भएकाले बिहान विस्थापितहरूले निकै सास्ती खेप्नुपरेको छ । हतार हुने कतिपयले शौचालयको सट्टा आसपासका खुला ठाउँ प्रयोग गर्ने गरेका छन्। यसले पिउने पानीका मुहान दूषित हुने र झाडापखालालगायत पानीजन्य रोग फैलिन सक्ने जोखिम बढाएको छ।

अस्पतालनजिकै रहेको विस्थापित शिविरमा बस्ने केहीमा झाडापखालाको समस्या देखिए पनि उनीहरू उपचारका लागि अस्पतालसम्म पुग्न सकेका छैनन् । झाडापखालाका बिरामीको नमुना संकलन गरी प्रयोगशालामा पठाइएको अस्पतालका सूचना अधिकारी डा. रिकेश रानाले बताए।

बाढीपीडितलाई लामो समयसम्म भीडभाडमा राख्दा संक्रामक रोग फैलिने जोखिम उच्च हुने विज्ञहरुले चेतावनी दिएका छन् ।

अहिले स्वाइनफ्लुको संक्रमणसमेत बढिरहेकाले बाढीपीडित शिविरमा त्यसतर्फ पनि विशेष ध्यान दिन आवश्यक छ । हैजा, झाडापखाला, दादुरालगायतका संक्रामक रोग फैलिन नदिन स्वच्छ खानेपानी, सरसफाइ, स्वास्थ्य परीक्षण र बिरामीको तत्काल व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको सुझाव छ।

बाढीमा सयौं मानिस बेपत्ता भएको र मृत्यु तथा बेपत्ताको यकिन तथ्यांकसमेत सार्वजनिक हुन नसकेको अवस्थामा आफन्त गुमाएका व्यक्तिमा मनोवैज्ञानिक तनाव बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रमा औषधिसँगै खाद्यान्नको आपूर्तिमा समेत समस्या देखिएको छ । उत्तरगया गाउँपालिकास्थित शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा रहेका सुत्केरी, गर्भवती र ज्येष्ठ नागरिकलाई उपचार तथा औषधिको समस्या रहेको कालिका गाउँपालिका–३ का विश्वास नेपालीले बताए ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ९ : ३६ बजे