बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ (टनेल) भित्र फसेका मानिसहरूको खोजी तथा उद्धारमा नेपाली सेना र विदेशी विशेषज्ञहरूसहितको संयुक्त टोली सोमबार दिनभर तीव्र रूपमा खटिए पनि कुनै ठोस उपलब्धि हासिल हुन सकेको छैन। सेनाले सोमबार साँझ ७ बजेसम्म आयोजनास्थलहरूमा भएको प्रगति विवरण सार्वजनिक गर्दै विभिन्न सुरुङहरूमा खोजी कार्य जारी रहेको जनाएको छ।
विदेशीसहितको संयुक्त उद्धार टोलीले रसुवागढी हाइड्रोको टनेलमा २५० मिटरसम्म पुगेर बन्द भाग फेला पारेको छ भने चिलिमे हाइड्रो टनेलको ३५ मिटर र लाङटाङ हाइड्रोको टनेलमा ६५ मिटरसम्म पुगेर सफाइ तथा खोजी कार्य गरिरहेको छ। लाङटाङ हाइड्रोको टनेलबाट सोमबार एउटा शव निकालिएको छ। यस्तै, माथिल्लो त्रिशूली–१ आयोजनाको मैलुङतर्फ २०० मिटर र हाँकूतर्फ ३०० मिटरसम्म पुगेर टोलीले खोजी गरिरहेको छ।
नुवाकोटस्थित त्रिशूली ३ ‘ए’ मा टनेल हेड फेला पारी कम्प्रेसरमार्फत हावा पठाउने र भित्रको पानी निकाल्ने काम भइरहेको छ भने ३ वटा एक्साभेटर प्रयोग गरी १५ मिटर वैकल्पिक मार्ग खोलिएको छ। त्रिशूली ३ ‘बी’ मा पनि विज्ञसहितको सैनिक टोलीले एक्साभेटरमार्फत उद्धार प्रयास गरिरहेको छ।
सुरुङभित्रको जटिल खोजीसँगै नेपाली सेनाले हवाई र पैदल गस्तीमार्फत अन्य क्षेत्रमा पनि उद्धार कार्यलाई निरन्तरता दिएको छ। सोमबार एक जर्मन नागरिकसहित १०९ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। सेनाका टोलीहरूले प्रभावित क्षेत्रका जंगल, डाँडा र बस्तीहरूमा पैदल गस्ती गर्दै स्थानीयसँग अवस्थाबारे जानकारी लिइरहेका छन्।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी जनशक्ति अन्य सुरक्षा निकायसँगको समन्वयमा खटिएका छन्। उनीहरूले घाइतेको उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन उपचारमा सहयोग पुर्याइरहेका छन्।
हालसम्म विभिन्न जलविद्युत् आयोजनाबाट २७९ जना श्रमिक तथा कर्मचारीको उद्धार भइसकेको छ। जसअन्तर्गत माथिल्लो त्रिशूली–१ बाट २५४ जना, मैलुङ खोलाबाट ९ जना, देवीघाट र सौर्य आयोजनाबाट ४/४ जना, त्रिशूली आयोजनाबाट ३ जना, रसुवागढी र माथिल्लो त्रिशूली–३ ‘बी’ बाट २/२ जनाको उद्धार गरिएको छ।
विभिन्न आयोजनामा कोरियन, चिनियाँ र भारतीय उद्धार टोलीहरूले नेपाली सेनासँगै प्रविधि र जनशक्ति परिचालन गरी खोज तथा उद्धारमा सघाइरहेका छन्। माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङमा मात्रै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणको गरी ९० जनाको टोली निरन्तर परिचालन गरिएको छ।







