काठमाडौं — भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा आयोजनास्थलमा फसेका व्यक्तिको खोजी तथा उद्धार कार्य आइतबार पनि जारी रहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भारत र चीनबाट आएका विशेषज्ञ उद्धार टोली परिचालन गरिए पनि ठूलो संख्यामा सम्पर्कविहीन भएकाहरूको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
आइतबार चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेना र भारतबाट आएको विशेषज्ञ उद्धार टोलीले दुई जनाको शव निकालेको छ। भारतीय विज्ञ टोलीले चिलिमेसँगै लाङटाङ जलविद्युत् आयोजनामा पनि ‘टनेल सर्च एन्ड रेस्क्यु’ अभियान सञ्चालन गरिरहेको छ।
सरकारका अनुसार हाल माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, लाङटाङ र चिलिमे जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धारका लागि विशेष प्रयास भइरहेको छ।
त्रिशूली–३ ‘ए’मा ब्लास्टिङको तयारी
माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरले शनिबारदेखि नै ब्लास्टिङको काम सुरु गरेका छन्। आइतबार उद्धार टोली सुरुङको मुख्य भाग ‘क्राउन हेड’ सम्म पुगेर करिब २×३ फिटको प्वाल बनाउन सफल भएको थियो।
डोरीको सहायताले उद्धारकर्मी तल झरेर भित्र रहेका व्यक्तिलाई बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि ठूलो उपकरण प्रयोग गरी प्वाल फराकिलो बनाउने, उत्खनन गर्ने र सुरुङभित्र अक्सिजन पठाउने काम एकसाथ अघि बढाइएको छ।
उद्धारस्थलमा नेपाली सेनाका ६६, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका सशस्त्र प्रहरीका १८ र नेपाल प्रहरीका ६ गरी ९० जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
आइतबार रातभर उत्खनन जारी राख्ने तयारी छ। त्यससँगै सुरुङभित्र भेन्टिलेसन र अक्सिजनको व्यवस्था मिलाइनेछ। उद्धारकर्मी घस्रिएर जान सक्ने ‘क्रल–थ्रु’ बाटो बनाएर स्ल्याबको माथिबाट डक्टको माथिल्लो भागसम्म पुग्ने र त्यहाँबाट सुरुङभित्रको अवस्था निरीक्षण गर्ने योजना छ।
यदि यसबाट आवश्यक पहुँच बनाउन नसकिए सोमबार बिहानै ‘कन्ट्रोल्ड ब्लास्टिङ’ गर्ने वैकल्पिक योजना बनाइएको छ। उद्धारपछि घाइतेलाई तत्काल उपचार गर्न मेडिकल टोलीसमेत तयारी अवस्थामा राखिएको छ।
रसुवागढीमा ९३ जना अझै सम्पर्कविहीन
रसुवागढी जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएकाको खोजी आइतबारबाट उपकरणसहित सुरु भएको छ। शनिबारसम्म भौतिक रूपमा खोजी सुरु हुन नसकेकोमा आइतबार उद्धार टोली उपकरणसहित आयोजनाको विद्युत्गृह पुगेको हो।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन छन्। तीमध्ये रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ कर्मचारी, दुई ज्यालादारी कर्मचारी, शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५, सीडब्ल्यूईका चार र भेनस कन्स्ट्रक्सनका तीन जना छन्।
भूमिगत डिसेन्डरमा फसेका छ जनामध्ये चार जना दुई दिन लगाएर आफैं बाहिर निस्कन सफल भएका थिए। उनीहरूलाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याएको छ। अन्य तीन जना भने सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सफल भएका छन्।
कम्पनीले उपकरणमार्फत खोजी गर्न सकेमा बाँकी व्यक्तिको उद्धार चाँडो गर्न सकिने जनाएको छ।
लाङटाङमा ४१, मैलुङमा ७ जना बेपत्ता
लाङटाङ खोला आयोजनाबाट यसअघि १९ जनाको उद्धार भइसकेको छ। तर ४१ जना अझै सुरुङभित्र फसेको अनुमान छ। निजी क्षेत्रको उक्त आयोजनामा आइतबार मात्रै उपकरणसहित नेपाली सेनाको उद्धार टोली परिचालन भएको हो। टोलीले खोजी गरे पनि साँझसम्म सफलता प्राप्त भएको छैन।
मैलुङ खोलाबाट सम्पर्कविहीन ७ जनाको अवस्था पनि अझै अज्ञात छ। इप्पानले सरकारसँग पटक–पटक पहल गर्दा पनि उनीहरूको खोजीमा अपेक्षित प्रगति हुन नसकेको गुनासो गरेको छ।
त्रिशूली–३ ‘बी’ र माथिल्लो त्रिशूली–१ मा पनि खोजी जारी
माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा पनि नेपाली सेना र चीनबाट आएको प्राविधिक टोली परिचालन गरिएको छ। आइतबार आयोजनाको संरचना रहेको स्थान पहिचान गर्ने काम सुरु भए पनि सुरुङभित्र फसेकाहरूको उद्धारमा सफलता मिलेको छैन।
माथिल्लो त्रिशूली–१ आयोजनामा अवस्था अझ गम्भीर छ। त्यहाँ चिनियाँ विज्ञ उद्धार टोली परिचालन गरिएको छ। आयोजनास्थलमा सुरक्षित रहेका २५४ जनाको उद्धार भइसके पनि सम्पर्कविहीनको खोजीमा उल्लेखनीय प्रगति हुन सकेको छैन। आयोजनाबाट कुल ५७६ जना सम्पर्कविहीन रहेको र तीमध्ये करिब ३०० जना सुरुङभित्र थुनिएको अनुमान गरिएको छ।
११ आयोजनाबाट ८९७ जना सम्पर्कविहीन
इप्पानका अनुसार रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित ११ वटा जलविद्युत् आयोजनाबाट कुल ८९७ जना सम्पर्कविहीन छन्।
रसुवातर्फ:
माथिल्लो त्रिशूली–१ — ५७६ जना
रसुवागढी जलविद्युत् — ९३ जना
माथिल्लो त्रिशूली–३ ‘ए’ — ४२ जना
माथिल्लो त्रिशूली–३ ‘बी’ — १२२ जना
लाङटाङ खोला — ४१ जना
रसुवा–भोटेकोशी — ४ जना
चिलिमे — ८ जना
मैलुङ खोला — ७ जना
यस्तै, नुवाकोटका त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाबाट एक–एक जना तथा मिडल त्रिशूली गंगाबाट दुई जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
यसरी बाढी आएको चार दिन बितिसक्दा पनि सयौं व्यक्ति सुरुङ र आयोजनास्थलमा फसेको आशंकामा छन्। उद्धारका लागि स्वदेशी सुरक्षाकर्मीसँगै छिमेकी मुलुकका विशेषज्ञ टोली र अत्याधुनिक उपकरण परिचालन गरिए पनि सुरुङभित्रको कमजोर पहुँच, थुप्रिएको माटो–ढुंगा, क्षतिग्रस्त संरचना र सम्भावित जोखिमका कारण उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण बनेको छ।









