भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि नेपालले मागेको आपत्कालीन सहयोगबारे संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचनाअन्तर्गतको ‘हानि तथा जोखिम सम्बोधन कोष’ (लस एन्ड ड्यामेज फन्ड) ले सकारात्मक जवाफ पठाएको छ ।
जलवायु परिवर्तनका कारण बाढी आएको ठहर गर्दै नेपालले भदौ १५ गते पठाएको पत्रको जवाफ दिँदै कोषको बोर्डले २४ भदौमा पत्राचार गरी नेपालको अनुरोधलाई छिटो सम्बोधन गर्न छलफल र समन्वय भइरहेको जनाएको छ।
कोषका सहअध्यक्षद्वय क्यामिला मिनर्भा रोड्रीगिज तावरेज र जर्ज ब्रोस्टिनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीलाई सम्बोधन गर्दै पठाएको पत्रमा भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। कोषका विद्यमान ढाँचा, नीति र कार्यविधिको सीमाभित्र रहेर नेपाललाई सहायता उपलब्ध गराउने विभिन्न विकल्पबारे विचार गर्न बोर्डलाई सिफारिस गरिएको पत्रमा उल्लेख छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति आकलनअनुसार बाढीका कारण १ हजार ३७७ जनाको मृत्यु, ५ हजार १३० जना बेपत्ता, साढे सात हजार घाइते र ७ खर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ।
बोर्डका सदस्य रिचर्ड शर्मनलाई उद्धृत गर्दै ‘न्यूयोर्क टाइम्स’ ले जनाएअनुसार कोषले नेपाललाई तत्काल बढीमा २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब ४ करोड रुपैयाँ) सम्म उपलब्ध गराउने सम्भावना छ। जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख एवं बोर्डका वैकल्पिक सदस्य डा. महेश्वर ढकालले कोषबाट पत्र प्राप्त हुनुलाई ऐतिहासिक उपलब्धि मान्दै यसले विकासशील देशहरूका लागि जलवायु न्यायको आधारशिला खडा गर्ने बताएका छन्। नेपालले न्यून कार्बन उत्सर्जन गरेर पनि जलवायु परिवर्तनको भारी खेप्नु परेकाले क्षतिपूर्ति र वातावरण संरक्षणको योगदानबापत अनुदान पाउनुपर्ने दाबी सरकारी अधिकारीहरूको छ।
यसैबीच, आगामी सेप्टेम्बर २४ मा आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आफैँ सहभागी भएर रसुवा बाढी र जलवायु न्यायको विषयलाई विश्वमञ्चमा सशक्त रूपमा उठाउने तयारी गरेका छन्। पहिले परराष्ट्रमन्त्री शिशिर खनालले नेतृत्व गर्ने तय भए पनि विपद्को गम्भीरतालाई ध्यानमा राख्दै प्रधानमन्त्री स्वयं जान लागेका हुन्। साथै, हानि तथा नोक्सानी कोषको ११ औँ बैठक सन् २०२७ को मार्च १७ देखि १९ सम्म काठमाडौँमा आयोजना हुने कार्यतालिका छ।









