पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानी बोर्डका पूर्वसीईओ सुशील ज्ञवालीलाई आफ्नो विज्ञ सल्लाहकार नियुक्त गरेका छन् । गत भदौ १० गते भोटेकोसी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि पुनर्निर्माण तथा क्षति मूल्याङ्कनको कामलाई तीव्रता दिन भदौ १३ गते ज्ञवालीलाई यो जिम्मेवारी सुम्पिएको हो ।
२०७२ को गोरखा भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओका रूपमा सफल नेतृत्व सम्हालिसकेका सिभिल इन्जिनियर ज्ञवालीसँग विपद्पछिको पुनर्निर्माण र पोस्ट-डिजास्टर निड्स असेस्मेन्ट (पीडीएनए) को लामो अनुभव छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकतत्वमा गठित टोलीले गरिरहेको पीडीएनएको काममा ज्ञवालीले सहजीकरण गरिरहेको मन्त्री लम्सालका स्वकीय सचिव विवेक बास्तोलाले जानकारी दिएका छन् ।
यसका साथै ज्ञवालीलाई विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित ‘काठमाडौँ भिजन २०४०’ परियोजनामा परामर्शदाता (कन्सल्ट्यान्ट) का रूपमा समेत नियुक्त गरिएको छ। यो परियोजना काठमाडौँ महानगरका प्रमुख वालेन्द्र शाह (बालेन) को नेतृत्वमा अघि बढाइएको एक महत्त्वाकाङ्क्षी पूर्वाधार योजना हो। ज्ञवालीले हाल मन्त्रालयमै रहेर उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने कामसमेत सम्हालिरहेका छन्।
वालेन्द्र शाह नेतृत्वको सरकारले गत वैशाखमा अध्यादेश ल्याएपछि लगानी बोर्डको सीईओबाट हट्नुपरेका ज्ञवालीको विज्ञता र अनुभवलाई बालेन क्याबिनेटका प्रभावशाली मन्त्री लम्सालले विपद् व्यवस्थापन र नगर विकास दुवै क्षेत्रमा उपयोग गरेका हुन्। ज्ञवालीको कार्यकक्ष मन्त्रालयमै व्यवस्थापन गरी दुवै महत्त्वपूर्ण परियोजनाको काम अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।








