२७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026

नेपाललाई एसीसी प्रिमियर कपको उपाधि, लगातार दोस्रो पटक एसिया कपमा छनोट



मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा शनिबार भएको एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको छ। यस उत्कृष्ट जितसँगै नेपाल लगातार दोस्रो पटक एकदिवसीय एसिया कपमा छनोट हुन सफल भएको छ। सन् २०२३ मा घरेलु भूमिमै भएको फाइनलमा पनि यूएईलाई नै ७ विकेटले हराएर पहिलो पटक एसिया कप खेलेको नेपालले अब एसियाली क्रिकेट परिषद् (एसीसी) को नियमानुसार भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता दिग्गज टोलीहरूसँग पुनः प्रतिस्पर्धा गर्ने अवसर पाएको छ।

टस जितेर ब्याटिङ रोजेको नेपालले ओपनिङ ब्याटर आसिफ शेखको सानदार शतकको मद्दतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १३ रनको विशाल योगफल तयार पारेको थियो। नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा यूएईविरुद्ध बनाएको यो हालसम्मकै उच्च स्कोर हो भने समग्रमा चौथो पटक ३ सय रनको आँकडा पार गर्दै तेस्रो उच्च स्कोर दर्ता गराएको हो। प्रतियोगिताका सुरुआती खेलहरूमा दबाबमा रहेका आसिफले १ सय ६ बलमा ८ चौका र ४ छक्काको मद्दतले १ सय २ रनको दोस्रो एकदिवसीय शतक बनाए। आसिफले अर्जुन कुमाल (४३ रन) सँग पहिलो विकेटका लागि ९७ रनको बलियो साझेदारी गरेका थिए। त्यसपछि रोहित पौडेलले ४० रन, गुलशन झाले ३८ बलमा ५२ रनको आक्रामक अर्धशतकीय इनिङ्स तथा बसिर अहमदले १५ रन जोडेपछि नेपाल बलियो स्थितिमा पुगेको हो।

३ सय १४ रनको फराकिलो लक्ष्य पछ्याएको यूएईले आक्रामक सुरुआत गरे पनि नेपाली बलरहरूको टिको बलिङसामु ४९.२ ओभरमा २ सय ६९ रन बनाउँदा सबै विकेट गुमायो। यूएईका लागि राहुल चोपराले घाइते भएर पनि १ सय ५ बलमा १ सय रनको अविजित शतकीय पारी खेले भने शोहेब खानले ५२ र ओपनर तानिस सुरीले ४४ रनको योगदान दिए। नेपालका लागि करण केसीले ९ ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए भने ललित राजवंशीले २ विकेट हात पारे। बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, गुलशन झा र सन्दीप लामिछानेले १-१ विकेट लिँदै टोलीलाई सानदार जित दिलाए। समूह चरणमा हङकङसँग पराजित भए पनि सेमिफाइनलमा ओमानलाई हराउँदै फाइनल पुगेको नेपालले अन्तिम भिडन्तमा यूएईमाथि पुनः आफ्नो वर्चस्व कायम गरेको छ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  १० : २६ बजे