काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै देशभरका सबै ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
देउवा पक्षीय १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरू चुस्त रूपमा सम्पन्न गराउनका लागि प्रतिनिधिहरू खटाइएको जानकारी दिएका हुन्।
विज्ञप्तिमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिसँग नै १५औँ महाधिवेशन गराउनुपर्ने वैधानिक र कानुनी दायित्व रहेको स्पष्ट पारिएको छ। जिल्लामा खटाइएका सबै केन्द्रीय प्रतिनिधिहरूलाई ढिलाइ नगरी तत्काल आ-आफ्नो कार्यक्षेत्रमा पुगेर तयारीका कामहरू अगाडि बढाउन निर्देशन दिइएको छ।
देउवा पक्षले तय गरेको कार्यतालिका अनुसार खटिएका प्रतिनिधिहरूले आउँदो असोज १५ गतेबाट सुरु हुने वडा अधिवेशनको प्रत्यक्ष अनुगमन र व्यवस्थापन गर्नेछन्। देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी आन्तरिक तयारीलाई तीव्र पारेको छ।









