३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

जलवायु परिवर्तन र हिमाली सङ्कटको मुद्दा राष्ट्रसंघीय महासभामा जोडदार रूपमा उठाइने



जलवायु परिवर्तनको असरले हिमाली क्षेत्र र नेपाली जनजीवनमा पारिरहेको प्रभावलाई अन्तर्राष्ट्रिय मञ्चमा जोडदार रूपमा उठाउने तयारी नेपालले गरेको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले जलवायु न्यायसँगै क्षति तथा नोक्सानीको वित्त (Loss and Damage Fund), अनुकूलन र हिमाली क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राख्ने भएको हो ।

सिंहदरबारमा बसेको संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले नेपालले महासभामा उठाउने एजेन्डाबारे विस्तृत जानकारी गराएका हुन् । जलवायु सङ्कटका कारण नेपालले भोगिरहेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराइने उनले बताए ।

सचिव राईका अनुसार संयुक्त राष्ट्रसंघका ६ प्रमुख अंगमध्ये एक रहेको महासभामा १९३ वटै सदस्य राष्ट्रले ‘एक राष्ट्र, एक मत’को आधारमा सार्वभौमिक समानताको अभ्यास गर्छन् । यसले नेपालजस्ता भूपरिवेष्ठित तथा अतिकम विकसित मुलुकलाई आफ्ना राष्ट्रिय हित र एजेन्डा विश्वमञ्चमा प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्दछ ।

जलवायु न्याय र वित्तीय सहयोगको माग

नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि ‘फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज’ लगायतका संयन्त्रबाट तत्काल र उचित वित्तीय सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नेछ ।

यसबाहेक, जलवायु उत्थानशील पूर्वाधार, जलवायु स्मार्ट कृषि, प्रविधि हस्तान्तरण र क्षमता विकासमा सहयोग उपलब्ध गराउन विकसित मुलुकहरूलाई अपिल गरिनेछ । नेपालले प्रकृतिमैत्री जीवनशैली, ४० प्रतिशतभन्दा बढी वन क्षेत्र, विशाल हिमालय क्षेत्र र नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षणमा पुर्‍याएको योगदानको उचित अन्तर्राष्ट्रिय मान्यता र सहयोगको विषयलाई वैज्ञानिक प्रमाणका साथ प्रस्तुत गर्ने तयारी गरेको छ ।

‘सगरमाथा टु द सी’ उच्चस्तरीय साइड इभेन्ट

महासभाका क्रममा नेपालले सगरमाथा टु सीः कल टु एक्सन फर क्लाइमेट रिजिलियन्ट फ्युचर विषयमा एक उच्चस्तरीय साइड इभेन्ट आयोजना गर्नेछ । यस कार्यक्रमको मुख्य उद्देश्य विश्वव्यापी जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको असर र त्यसबाट सिर्जित जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु रहेको छ ।

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको सहभागिता तथा द्विपक्षीय भेटघाट

महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत हुने ‘जनरल डिबेट’मा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । न्युयोर्क भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलगायत सहभागी हुनेछन् । नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २२ मा न्युयोर्कतर्फ प्रस्थान गरी सेप्टेम्बर २६ मा स्वदेश फर्कने कार्यक्रम छ ।

त्यस्तै, महासभाका क्रममा हुने अतिकम विकसित मुलुक, भूपरिवेष्ठित विकासोन्मुख मुलुक, असंलग्न मुलुक, र ‘ग्रुप अफ ७७ एन्ड चाइना’ लगायतका मन्त्रीस्तरीय बैठकहरू तथा उच्चस्तरीय छलफलहरूमा परराष्ट्रमन्त्रीले सम्बोधन गर्नेछन् । साथै, छिमेकी मुलुकका समकक्षी तथा राष्ट्रसंघका उच्च पदाधिकारीहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ६ : ४४ बजे