भोटेकोशी बाढीमा परेर ३० दिनदेखि बेपत्ता रहेकी विराटनगर महानगरपालिका–३ की २४ वर्षीया ऋचा निरौलाले पहिलो प्रयासमै लोकसेवा आयोगको लिखित परीक्षामा सफलता हासिल गरेकी छन्।
ऋचा अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिइन्। गत भदौ १० गते आएको भोटेकोशी बाढीका क्रममा उनी बेपत्ता भएकी हुन्। उनको अवस्था अझै अज्ञात छ।
छोरीको खोजी र उनको खबरको प्रतीक्षामा रहेको परिवारले बिहीबार भने लोकसेवा आयोगको परीक्षाफलमार्फत ऋचाको सफलता थाहा पायो। आयोगले बिहीबार सार्वजनिक गरेको सब–इन्जिनियर पदको लिखित परीक्षाको नतिजामा ऋचाको नाम १२औँ क्रमसंख्यामा छ।
ऋचाले गत असार ६ गते पहिलोपटक लोकसेवा आयोगको परीक्षा दिएकी थिइन्। बुबा लीलाप्रसाद निरौलाका अनुसार पहिलो प्रयासमै उनले लिखित परीक्षा उत्तीर्ण गरेकी हुन्।
तर, छोरीको सफलताको खबरले परिवारमा खुसीभन्दा पीडा थपिएको छ। ‘छोरीले लोकसेवा पास गरेको खबर आयो, तर छोरी नै कहाँ छिन् भन्ने थाहा छैन,’ भन्ने अवस्थाले परिवारलाई थप भावुक बनाएको छ।
लीलाप्रसादका अनुसार तीन सन्तानमध्ये ऋचा कान्छी हुन्। उनी करिब ६ महिनाअघि मात्रै आयोजनामा काम गर्न रसुवा गएकी थिइन्।
बाढीपछि ऋचाको मोबाइलको लोकेसन उत्तरगया गाउँपालिका–१ स्थित तिरु आधारभूत विद्यालय आसपाससम्म देखिएको थियो। त्यसपछि उनको मोबाइल स्विच अफ छ। परिवारले त्यसयता उनको खोजी तथा अवस्थाबारे जानकारीको प्रतीक्षा गरिरहेको छ।
ऋचाको लोकसेवा सफलताको खबरसँगै परिवारमा उनको सुरक्षित उद्धारको आशा पनि कायमै छ।









