नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ। बुधबार राति प्रकाशित नामावलीअनुसार सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ। यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिलातर्फको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरू हुने निर्वाचन समितिले जनाएको छ। महाधिवेशनमा सहभागी कुल ७ हजार २५५ जना प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्दैछन्। यसअघि बिहीबार बिहान ७ बजेदेखि नै मतदान सुरू गर्ने कार्यक्रम सार्वजनिक गरिए पनि वर्षा र केही प्राविधिक कारणले गर्दा ३ घण्टा ढिला गरी बिहान १० बजेबाट मात्रै मतदान प्रक्रिया अघि बढाउन लागिएको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए।
प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ। जसअन्तर्गत काठमाडौंका ३ मुख्य स्थान (राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवन) मा गरी ७ वटा मतदान केन्द्र तोकिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ भने प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र निर्धारण गरिएको छ।
त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन्। निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि सुरू भई साँझ ५ बजेसम्म निरन्तर चल्नेछ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिहरूले आफ्ना लागि तोकिएको स्थानमा पुगेर परिचयपत्र तथा मतदाता नामावली रुजु गराएपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
कांग्रेस उम्मेदवारहरुको नामावली:
https://drive.google.com/file/d/180JrMRaQXFPpudIIW_1yz6n2YMhuK0I1/view









