२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

सुरक्षा खतरा बढेपछि अमेरिकाले बेलायतबाट फिर्ता बोलायो सबै लामो दूरीका बमवर्षक विमान



काठमाडौँ । आइतबार देखिएको एउटा अज्ञात नयाँ खतराका कारण अमेरिकाले संयुक्त अधिराज्य (बेलायत) मा तैनाथ आफ्ना सबै लामो दूरीका बमवर्षक विमानहरू फिर्ता लगेको छ।

सीएनएनका अनुसार ती विमान राखिएको बेलायती हवाई अड्डालाई निशाना बनाउने इरानी षड्यन्त्रमा सामेल भएको आरोपमा बेलायत सरकारले केही व्यक्तिलाई पक्राउ गरेको केही दिनपछि अमेरिकाले यो कदम चालेको हो।

एक अमेरिकी अधिकारीले सीएनएनसँग पुष्टि गर्दै भनेका छन्, “बेलायतको ‘आरएएफ फेयरफोर्ड’ एयर बेसमा तैनाथ सबै अमेरिकी बमवर्षक विमानहरूलाई अमेरिकास्थित आफ्नै आधार शिविरमा फिर्ता लगिएको छ।” यद्यपि, अमेरिकाले विमान हटाउनुको पछाडिको आधिकारिक कारण भने सार्वजनिक गरेको छैन।

यो निर्णय गत सेप्टेम्बर २७ मा घटेको एउटा घटनासँग जोडिएको छ। त्यस दिन बेलायतको ग्लोस्टरसायरस्थित आरएएफ फेयरफोर्ड एयर बेसनजिकै तीनवटा शङ्कास्पद सवारीसाधन देखिएपछि प्रहरीलाई सतर्क गराइएको थियो। ‘आतङ्कवादसँग सम्बन्धित अपराध’को आशङ्कामा सुरुमा पाँच जना र पछि एक ब्रिटिस-इरानी नागरिकलाई पक्राउ गरिए पनि उनीहरू सबैलाई पछि प्रहरी जमानतमा रिहा गरिएको थियो।

यस विषयमा जानकार स्रोतहरूले पछिल्लो खतरालाई ‘वास्तविक घटना’ भन्दै अमेरिकी सेनाले बमवर्षक विमानलाई सोही क्षेत्रको अर्को आधार शिविरमा सार्नुको सट्टा सोझै स्वदेश फिर्ता लैजानु असामान्य भएको टिप्पणी गरेका छन्।

मार्को रुबियोद्वारा घटनाको सामान्यीकरण

यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने विमान फिर्ता लगिनुलाई खासै ठूलो विषय नभएको दाबी गरेका छन्। उनले विमानहरूको स्थानान्तरणलाई षड्यन्त्रको घटनासँग प्रत्यक्ष जोड्न आवश्यक नरहेको बताएका छन्।

सोमबार मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रयुजमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले भने, “अभ्यास, पुनः तैनाथी, जनशक्ति फेरबदल र नयाँ विमान आउने-जाने क्रममा विश्वका विभिन्न भागमा विमानहरूको आवागमन हुनु सामान्य कुरा हो।” यस क्रममा उनले अमेरिकाले सुरक्षा र अनुसन्धानका विषयमा बेलायतसँग निरन्तर नजिक रहेर काम गरिरहेको पनि स्पष्ट पारे।

फेयरफोर्डस्थित रोयल एयर फोर्सको आधार शिविर इरानविरुद्धको कारबाहीमा संलग्न अमेरिकी बी-१ बमवर्षक विमान सञ्चालनका लागि प्रयोग हुँदै आएको छ। साथै, यो शिविर लामो दूरीका आक्रमण व्यवस्थापन गर्ने अमेरिकी ‘ग्लोबल स्ट्राइक कमान्ड’को प्रमुख सञ्चालन केन्द्र पनि हो।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ११ : १४ बजे