२३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026

१० दिनको निगरानीपछि बूढानीलकण्ठबाट २१ किलो सुन बरामद, चिनियाँ नागरिक नियन्त्रणमा



काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निरन्तर १० दिनको कडा निगरानी र ‘अपरेसन’पछि उक्त परिणाममा सुन बरामद गर्न सफल भएको हो ।

अनुसन्धानमा खटिएका एक वरिष्ठ प्रहरी अधिकृतका अनुसार प्रहरीको मुख्य उद्देश्य सुन मात्र बरामद गर्नु नभई त्यसका मुख्य मालिक र गिरोहलाई नै पक्राउ गर्नु रहेकाले लामो पर्खाइपछि यो सफलता मिलेको हो ।

प्रहरी टोलीले कारबाही अघि बढाउनुअघि नै घरधनीको सम्पूर्ण विवरण तयार पारिसकेको थियो । अपरेसनका क्रममा प्रहरी टोली चिनियाँ नागरिकसमेत बसेको घरभित्र प्रवेश गर्दा अभियुक्तहरूले उल्टै प्रहरीमाथि आक्रमण गरी भाग्ने प्रयास गरेका थिए। तर, प्रहरीले उनीहरूको प्रयास असफल पार्दै नियन्त्रणमा लिएको छ।

बरामद सुन प्रकरणमा तीन जना चिनियाँ नागरिकको संलग्नता रहेको खुलेको छ। प्रहरीले केही व्यक्तिहरूलाई पक्राउ गरिसकेको भए पनि अनुसन्धान प्रभावित हुनसक्ने भन्दै हाल उनीहरूको नाम सार्वजनिक गरेको छैन ।

प्रहरीले घटनास्थलबाट १० किलो तयारी अवस्थामा रहेको ढिक्का सुन र ११ किलो प्रशोधन गर्न बाँकी सुन बरामद गरेको छ । साथै, सुनलाई पगालेर ढिक्का बनाउन प्रयोग गरिने विभिन्न आधुनिक उपकरणहरू समेत कब्जामा लिइएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले यसलाई पछिल्ला केही वर्षयताकै ठूलो र सफल अपरेसन मानेको छ । घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्न शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्र्याइएको शङ्का गरिएको छ । विमानस्थलबाट पगालेर विभिन्न स्वरूपमा भित्र्याइएको सुनलाई बूढानीलकण्ठमा प्रशोधन गरी ढिक्का बनाएर भारततर्फ तस्करी गर्ने तयारी भइरहेको प्रहरी अधिकृतको भनाइ छ ।

गृहमन्त्री सुधन गुरुङसम्म समेत यस गुप्त सूचनाको जानकारी पुगेको स्रोतले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूसँग गहन सोधपुछ भइरहेकाले यस अन्तर्राष्ट्रिय तस्करी सञ्जाल (नेक्सस) को पूर्ण सत्यतथ्य चाँडै बाहिर आउने प्रहरीको विश्वास छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ७ : ५३ बजे