न्युयोर्क – कराते प्रशिक्षक शान्तबाबु थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन् । आइतवार न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न आठौ अधिवेशनले शान्तको नेतृत्व ११ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको हो । अधिवेशन अघि अध्यक्षको दावेदारी गर्दै आएका चलचित्रकर्मी अमृत लामा प्रथम उपाध्यक्ष चयन भएका छन् ।
न्युयोर्क र आसपासमा रहेका दुइ सय १६ जना सदस्य सहभागि अधिवेशनले शृजना लामालाई उपाध्यक्ष र अमर तामाङलाई महासचिव चयन गरेको छ । यस्तै छिरिङ योञ्जन सचिव र नाम्गेल लामालाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । बोर्ड सदस्यहरुमा राम तामाङ, प्रविण लामा, सानु कुमारी लामा र मैना लामा निर्वाचित भएका छन् । बाकी दुइ सदस्यको अध्यक्षले मनोनित गर्ने छन् ।
निर्वाचित कार्यसमितिलाई आइतवार नै प्रमुख निर्वाचन आयुक्त ङिमा पाखि्रनले पद तथा गोपनियताको सपथ गराए ।
यसै बीच नवनिर्वाचित अध्यक्ष शान्त थोकरले आफ्नो कार्य समितिको पहिलो काम न्युर्योकमा सस्थाको कार्यालय सञ्चलन र तामाङ भाषा, धर्म सम्वन्धी शिक्षा कार्यक्रम शुरु गर्नु रहेको जनाएका छन् । तामाङ भाषा र धर्म सम्वन्धी शिक्षा कार्यक्रम सञ्चालनका लागि आफ्नो माताहतमा रहेको इन्टरनेश्नल मार्शल आर्ट एशोसिएशन न्युयोर्कको ( कराते प्रशिक्षण स्थल) हल उपलब्ध गराउने घोषणा गरेका छन् ।
यस्तै शान्तले तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रलाई सन् २०१८ भित्र शिलन्यास गर्ने जनाएका छन् । “स्वदेश तथा विदेशमा रहेका तामाङहरुको स्तरउन्नतीमा सहयोग पुर्याउनु र तामाङ सस्कृतिको जगेर्ना गर्नमा नै मेरो ध्यान केन्दि्रत रहने छ ।” दुइ बर्षे कार्यकालका लागि अध्यक्ष चयन भएका शान्तले उत्तर अमेरिकामा रहेका सबै तामाङ बीचमा साझा सञ्जाल बनाउने, तामाङ सोसाइटी अफ अमेरिकाको नेतृत्वमा विश्व तामाङ सम्मेन आयोजना गर्ने र अन्तराष्ट्रिय तामाङ सञ्जाल बनाउने योजना सुनाए ।
तामाङ भाषा अनलाइन कक्षा, तामाङ विद्यार्थी छात्रवृत्ति कोष स्थापना, नेपालमा लोकसेवा आयोग परिक्षाको तयारीमा रहेका तामाङहरुका लागि शैक्षिक छात्रवृत्ति, तामाङ आकास्मिक कोष स्थापना गर्ने लक्ष्य उनले बनाएका छन् ।
न्युयोर्कमा बहुप्रचारित तामाङ सांस्कृति तथा बौद्ध केन्द्रको लागि अतिरिक्त कोष संकलन गर्न अमेरिका तथा अन्य मुलुकमा तामाङ सस्थाहरु बीचमा समन्वय गर्ने उनको योजना छ । सन् २००८ देखि २०१० सम्म सोसाइटीमा महासचिव जिम्मेवारी निभाएका शान्त थोकर अमेरिकी कराते महासंघबाट दोहोरो ए लाइसेन्स प्राप्त करातेका प्रशिक्षक हुन् । न्युयोर्कमा कराते स्कूल सञ्चालन गर्ने अहिले सम्म उनी एक्लो नेपाली पनि हुन् । उनले आफ्नो घोषण पत्रमा उल्लेख गरिएका अन्य प्रतिवद्धता क्रमस पुरा गर्दै जाने जनाएका छन् ।