ङिमा पाख्रिन
शान्तिका अग्रदूत गौतम बुद्धका २५६० औं जन्म जयन्ती नजिकिएको छ । वैशाख शुक्ल पूर्णिमाको दिन गौतम बुद्धका जीवनमा महत्वपूर्ण तीन घटनाहरु भएकोले पनि बुद्ध जयन्तीको महत्वलाई बिशेष रुपमा लिईन्छ । बुद्ध जन्मेको, उहाँलाई बुद्धत्व प्राप्त भएको र उहाँले परिनिर्वाण गर्नु भएको तीनवटै महत्वपूर्ण घटनाहरु वैशाख शुक्ल पूर्णिमाका दिनमा परेका थिए । ईसापूर्वको पाँचौ शताब्दीसम्म गौतम बुद्ध जीवित रहेको आधारमा बुद्धमार्गीहरुले २५६०औं बुद्ध जयन्ती गणना गरिएको देखिन्छ । तिब्बतियन बुद्धमार्गका अनुयायीहरुले चाही महिना भरी नै ‘साका दावा’ नामले बुद्ध जयन्ती मनाउँने परम्परा रहेको पाईन्छ । तथापी नेपालका अधिकांश बुद्धमार्गीहरुले भने यो परम्परालाई कायम राखेका छैनन् र एक दिनमा सीमित भएको देखिन्छ । यहाँ चर्चा गर्न खोजिएको चाही बुद्ध जयन्ती मनाउँदैमा बुद्धमार्ग प्राप्त हुन्छ ? हरेक बुद्धमार्गी अनुयायीले बुद्ध दर्शनसँग आधारित ज्ञान बुझेका हुन्छन् ? पश्चिमाहरुले बुद्ध दर्शनलाई कसरी अँगालेका छन् ? आदि ईत्यादि हुन् ।
⊂सन्दर्भः बुद्ध जयन्ती⊃
बुद्ध भन्नले ज्ञानप्राप्त गरी अन्तिम सत्यको साक्षात्कार गरेको महामानव, जसले गुरु बिना नै आफ्नै ध्यान र प्रयासमा ज्ञान प्राप्त गर्नका साथै अन्य प्राणीहरुको दुःखनिरोधको लागि मार्गदर्शन पत्ता लगाएका हुन्छन् । ऐतिहासिक रुपमा शाक्यमुनि बुद्ध (गौतम बुद्ध) नै त्यो महामानव हुनुहुन्छ जसले आफुलाई प्राप्त दिव्य ज्ञान अन्य प्राणीको मुक्तिमार्गको लागि अनुयायीहरु मार्फत प्रचारप्रासार गर्नुभयो र शिक्षादीक्षाको रुपमा बाँड्न थाल्नुभयो । त्यही ज्ञान बुद्ध दर्शनको रुपमा भारतीय उपमहाद्वीप हुँदै पूर्वी र दक्षिण–पूर्वी जम्बू महाद्वीपमा फैलिन गई आज पैंतीस करोडभन्दा अधिक मानिसहरूले मान्ने विश्वको चौथो सबैभन्दा ठूलो धर्मको रूपमा रहेको जानकारहरु बताउछन् ।
बौद्ध दर्शनअनुसार बुद्धमार्गमा लाग्नका लागि आधारभुत पाँचवटा बुँदाहरु, जसलाई ‘पञ्चशील’ भनिन्छ, बुझेर अबलम्बन गर्नु पर्दछ । प्राणी हिंसा नगर्ने, मद्यपान नगर्ने, चोरी नगर्ने वा नसोधी नलिने, झुठो कुरा नबोल्ने र व्यभिचार नगर्ने पाँच बुँदाहरु नै ’पञ्चशील’ हो । बौद्धमार्गी बन्न वा बुद्ध धर्म अबलम्बन गर्न नितान्त ब्यक्तिगत निर्णयमा छाडिएको देखिन्छ । बुद्ध धर्ममा रहन बुद्ध, बुद्धको धर्म र बुद्धको संघ (त्रिरत्न) अनुशरण गर्दा हुने तर पहिले मानी आएको धर्मलाई छाड्नु पर्ने वा अरु धर्म मान्नेले मान्न नहुने बन्देज कतै नभएको बुद्ध धर्मका प्रवर्धकहरु बताउछन् । यस्तो उदारताको कारणले नै बुद्ध धर्म फैलिएका ठाउँमा बुद्ध धर्म भन्दा पहिलेका विश्वासहरुलाई पनि देखिएको जानकारहरुको भनाई छ । जस्तै, तिब्बतीयन बौद्ध धर्ममा बोन संस्कृति, दक्षिण तथा दक्षिण पूर्वी एसियाली बुद्ध धर्ममा हिन्दू संस्कृति, जापानमा शिन्तो, चीनमा ताओ र कन्फ्युसियस संस्कृति बुद्ध धर्मसँगै गाँसिएको देखिन्छ ।
अधिकाँश पूर्वीय बौद्ध धर्मालम्बीहरुले बुद्ध दर्शनभित्रका ज्ञानलाई बुझेर पालना गर्नुभन्दा पनि संस्कारको रुपमा लिने देखिएको आचार्य ङवाङ साँगे बताउँनु हुन्छ । बौद्ध दर्शनका अध्येता आचार्य ङवाङ साँगे पश्चिमाहरुलाई बुद्ध दर्शन सम्बन्धी प्रशिक्षण दिनुहुन्छ । पश्चिमाहरु भने बौद्ध दर्शनभित्रका ज्ञानलाई बुझेर मात्रै यसका अनुयायी बन्ने भएकोले पूर्वियहरुले भन्द पनि उनीहरुले राम्ररी बुझेको हुन्छन् । कुनै दिन बौद्ध दर्शनको शिक्षा पद्दती नै पश्चिमाहरुको हातमा पुग्न सक्ने आशंका आचार्य ङवाङ साँगे राख्नु हुन्छ । गेसे (डाक्टर) ङिमा तामाङका अनुसार गुम्बाभित्र हुने बुद्ध दर्शन सम्बन्धीका पुस्तकहरु कग्युर तिङ्ग्युर ज्ञानका भन्डार हुन् । तर यसलाई अधिकाँस पुर्विय धर्मालम्बीहरुले पूजा गरेर राख्दछन् । यस भित्र भएका ज्ञानलाई बझेर अनुशरण गर्दा सार्थकता हुने गेसे तामाङ बताउनु हुन्छ ।
अन्त्यमा, न्युयोर्क निवासी ससांक लामाले फेसबुक पेजमा लेख्नु भएको बौद्ध धर्म गुरु दलाई लामाको भनाईलाई यहाँ उल्लेख गर्न चाहन्छु । ‘मेरो हात तिमारुको टाउकोमा राख्दैमा तिमारुले निर्वाण प्राप्त गर्न सक्दैनौ, न त तोर्मा टाउको माथि राख्दैमा निर्वाण प्राप्त हुन्छ’ । प्रसँग यही हो, बुद्ध जयन्ती मनाउँदैमा अथवा बुद्ध धर्मालम्बी हुँदैमा मात्र बुद्ध दर्शनका ज्ञानहरु हासिल गर्न सकिदैनन् । बुद्ध दर्शनका मार्गलाई तथा ज्ञानलाई बुझेर जीवनमा अनुशरण नगरी दुःखबाट मुक्ति मिल्दैन । अतः बुद्ध जयन्तीलाई बौद्ध मार्ग, बुद्ध ज्ञान तथा दुःखबाट मुक्ति पाउने उपायको बारेमा शिक्षा लिने राम्रो अवसरको रुपमा मनाउनु फलदायी हुनेछ ।
शब्दार्थः
कग्युरःबुद्धका वचनलाई जस्ताको तस्तै भोट भाषामा अनुवाद गरिएको पुस्तक
तेङ्ग्युरः कग्युरलाई बौद्ध बिद्वानहरुले सरलीकरण गर्दै केहि हेरफेर सहित भोट भाषामा अनुवाद गरिएको पुस्तक