१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ख्यालख्यालैमा गायिका भएँ–दीपा लामा


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

करिब दुईसय गीतमा स्वर दिइसकेकी छन् दीपा लामाले । काठमाडौंको तिलगंगामा जन्मेकी उनी त्यहीं हुर्किन् । अहिलेसम्म १८ भन्दा बढी फिल्ममा गीत गाइसकेकी उनले आधुनिक गीतमा धेरै स्वर भरेकी छिन् । आफ्नो साथी नै संगीत मान्ने दीपाले राजशुक्र लिम्बुको ‘मेरै भन्छु’ गीतबाट सांगीतिक क्षेत्रमा ब्रेक गरेकी हुन् ।
सानैदेखि अरुणा लामाको गीतमा मन गएको बताउँने उनले यही क्षेत्रमा व्यसायिक रुपमा लाग्ने सपना भने बुनेकी थिइनन् । एकदुई गीत गाएर यो क्षेत्र छाड्ने उनको योजनालाई पहिलो गीतको वाहवाहीले रोकिदियो । पहिलो गीत नै धेरैले मनपराई दिएपछि उनलाई यो क्षेत्रले तान्यो र अहिले उनी दिनादुदिन व्यस्त हुदै छिन् । स्टेज कार्यक्रमका लागि राजधानी र राजधानीबाहिर पनि पुग्न थालेकी छिन् । उनै नवगायिका दीपा लामासँग यसपटक एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः

तपाईंको गायन यात्रा कसरी सुरु भयो ?
सानैबाट गीत गाउन मन पराउँथे । अरुणा लामाको गीतहरु एकदमै मनपथ्र्यो । जब ठुली भएँ, एकदुईवटा गीत रेकर्ड गर्न मन लाग्यो । गीत रेकर्ड गर्न त गाह्रै थियो । यसै क्रममा फेसबुकमा राजशुक्र लिम्बु दाईसँग गीत गाउने रहर व्यक्त गरेकी थिएँ । फेसबुकमा ख्यालख्यालैमा भने जस्तो लागेको थियो मलाई । तर, उहाँले मलाई अवसर दिनुभयो । मेरो भन्छु भन्ने बोलको उहाँकै गीतबाट मैले आफ्नो करिअरको प्रारम्भ गर्न पाएँ ।
निरन्तरता दिन निकै गाह्रो हुन्छ भन्छन्, त्यसपछिको माहोल कस्तो रह्यो ?
पहिलो गीत सार्वजनिक भएपछि प्रतिक्रिया राम्रो पाउन थाले । यसले मलाई थप उत्साह मिल्यो । यही उत्साहले उर्जा भ¥यो । अरु गीत गाउने मन पनि बढेर आयो । यही क्रममा अवसर पनि पाउन थालें । फुलै फुलको मौसम तिमीलाई फिल्ममा गीत गाउन पाएँ । संगीतकार दाजु सुरेश अधिकारीले ब्रेक दिनुभयो । ‘जति सक्छौ तिमी,’ बोलको यो गीत दिनेश डिसी दाइले पनि मन पराईदिनुभयो । त्यसपछिका दिनहरुमा काम पाइरहेकै छु । अहिलेसम्म फुर्सदमा बस्नु परेको छैन ।
तपाईं आफैले पनि गीत लेख्नुहुन्छ कि गाउनुहुन्छ मात्रै ?
अहिलेसम्म गीत लेखेकी छैन । गाउने काम मात्र गरेकी छु ।
दुई सय गीत गाउनुभएछ, कति गीतहरु सम्झना छ तपाईंलाई ?
म आफुले गाएकी कुनै पनि गीत पनि भुल्दिनँ । सबै गीतमा मन लगाएर गाउछु । धेरैपटक गाउँछु । संगीतमा फिल आउनुपर्छ । फिल आएपछि गीतको रस आउँछ । रस भरेर गाएको गीत बिर्सने कुरै आउँदैन ।
तपाईलाई यो क्षेत्रमा कतिको सफल भइन्छ जस्तो लाग्छ ?
हरेक काममा निरन्तरता दिनुपर्छ । निरन्तरताले असम्भव कुरालाई सम्भव बनाईदिन्छ । म यसैको पक्षपाती हुँ ।
अरुणा लामाको पाला र अहिलेको गायनमा के–के फरक पाउनुहुन्छ ?
उतिबेला बाजाहरु लाइभ हुने रहेछ । एकपटक मिस्टेक भयो भने पुरै गाउनु प¥यो । एकदमै गाह्रो हुन्थ्यो कि जस्तो लाग्छ उहाँहरुलाई । तर, अहिले हामीलाई प्रविधिले सजिलो बनाईदिएको छ । ट्रयाकको जमाना आएको छ ।
स्टेजमा कस्ता गीतहरु गाउनुहुन्छ ?
अहिलेको माहोल नै स्टेजमा छ । ट्रयाक र रेकर्डमा जति गएपनि गायकको असली परीक्षा स्टेजमा हुन्छ । त्यसैले मलाई स्टेज एकदमै मनपर्छ । स्टेजमा डान्सिङ नम्बरका गीतहरु नै बढी गाउँछु ।
एल्बम बजारमा ल्याउने तयारी छ कि ?
अहिलेसम्म मैले कुनै एल्बम पनि तयार गरेकी छैन । ताराप्रकाश लिम्बु दाईसँग काम गर्दैछु । सायद छिट्टै आउन पनि सक्छ ।
गायकगायिकाको दर्जा पाउन एल्बम आवश्यक छ कि छैन ?
मलाई एल्बम नै सबथोक हो जस्तो लाग्दैन । सबैभन्दा ठुलो काम हो । कलेक्सन एल्बमहरुमा गाएकै छु । फिल्ममा गाएकै छु । त्यसैले गायकगायिकाको दर्जा पाउन एल्बम नै निकाल्नुपर्छ भन्ने पक्षमा म छैन ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ८ : १६ बजे