आङ बाबु शेर्पा
हिमाली मुलबासीहरुले सदियौ बर्षदेखि कसैलाई स्वागत र सम्मान गर्नुपरे पुरुषलाई दाहिने कुममा र महिलालाई देब्रे कुममा सेतो पिठो छर्कने प्रथालाई कर तक भनिन्छ । स्थानीय भाषामा कर भनेको सेतो रंग र तक भनेको चिन्ह हो । पछिल्लो समयमा यो कर तक भन्ने शब्दनै अपभ्रंसंगै खताग भनेर उचारण गरिएको बौद्ध बिद्धानहरुको भनाइ रहेको छ ।
खताग खासगरी सेतो कपडाको हुन्छ जुन शुद्ध र पवित्र मनले जो कसैलाई स्वागत, सम्मान र बिदाई गर्दा प्रयोग गर्दै आइरहेको छ । मानवीय मुल्य, मान्यता र भावनासँग गाँसिएको खतागको प्रयोग सातौं शताब्दीमा बुद्ध धर्मलाई अंगीकार गर्नु भन्दा पहिलेदेखि चलि आएको चलान देखिन्छ ।
बिज्ञान प्रविधि, समय, चाहना र आवश्यकताअनुसार खताग विभिन्न आकार र रंगहरुमा उत्पादन हुन गयो । बिशेष गरी पञ्च तत्वमा आधारित पहेलो भूमि, हरियो जल, रातो अग्नि, सेतो वायु, निलो आकाशको प्रतीकका रुपमा खतागको प्रयोग हुन्छ । मंगोलियमा प्राय निलो रंगको खताग प्रयोग गर्ने गरिन्छ ।

खातागमा अस्टमंगल चिन्हहरुको प्रतिक छापिएका हुन्छ जुन प्रचिन समयमा भारतका राजाहरुले प्रयोग गर्ने गर्दथे । भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नु भएको खबर देवताहरुले सुनेपछि देवताहरुले भगवान बुद्धलाई अस्टमंगलको प्रतिक चढाउनु भएको थियो । शुद्ध मनले अस्टमंगलको प्रतिक चढाउदा यसबाट सकारात्मक उर्जा प्राप्त भइ चिताएको कुरा प्राप्त गर्न सफल भइन्छ भन्ने विश्वास छ । खातागमा सम्भोट लिपिमा टाशीदेलेख भनेर लेखिएको हुन्छ जसको अर्थ शुभ होस् वा भाग्यमानी होस् भन्ने हुन्छ । सम्पूर्ण प्राणीहरुमा करुणाको भावना राख्नु हुने अवलोकेतेश्वरको बन्दना समेत खातागमा लेखिएको पाइन्छ ।
खताग कुनै एक बिशेष जाती, बर्ग समुदाय र धर्मको मात्र नभएर मानवीय भावनासँग गँसिएको पाइन्छ जस्तै फुल कुनै जाती, बर्ग समुदाय र धर्मको नभई सबैको साझा हो । यदि खतागलाई सम्मान स्वरुप कसैको भलो र कल्याणको दृष्टिकोणले प्रयोग गरिन्छ भने बन्देज र प्रतिबन्ध लगाउनु पर्ने कारण छैन । कसैको संस्कार किन अंगाल्ने भन्ने प्रसंगकै कुरा गर्ने हो भने विवाहमा औठी प्रयोग, जन्मदिन मनाउँदाको केक प्रयोग, टाइसुटको प्रयोग आदिको ऐतिहासिक पृष्ठभूमि जे जस्तो भएपनि हामीले निर्बाध अनुसरण गरी राखेका छौ । सांस्कृतिक अतिक्रमणको प्रसंगमा नेपालको आदिबासी जनजातिहरुले हिन्दु धर्म संस्करमा आधारित बिबाहमा सिन्दुर हाल्ने बिधि र टिका लगाउने चलन अनुसरण गर्दै आइरहेको छ ।
खताग सम्बन्धी नेपालको पूर्व प्रधानमन्त्री के पी वोली जी र संचारकर्मी प्रेम बानियाँले दिएको अभिव्यक्तिमा कुनै सत्यता र आधार छैन । नेपाली मुद्रा बिदेशिएको, साँस्कृतिक अतिक्रमण, वातावरण प्रदुषण र चीन सरकारसँगको सम्बन्धमा असर पर्ने जस्तो अनावश्यक कुराहरुलाई लिएर खतागमाथि प्रतिबन्ध लगाउनु पर्छ भन्ने उनीहरुको आधारहिन कपोकल्पित अभिव्यक्ति साम्प्रदायिक भावनाले ग्रसित मानसिकताको उपज हो भन्दा फरक पर्दैन । सत्य कुरा ९८ प्रतिशत खतागको उत्पदान चीनमा हुन्छ र यो खातागमा सम्भोट लिपिमा लेखिएको कुरा चीन सरकारका पदाधिकारीहरुलाई पूर्ण जानकारी छ । सम्भोट लिपी चीनको एउटा राष्ट्रिय लिपी हो ।
खतागमा फ्री तिब्बत नारा लेखिएको हुन्छ भनेर भ्रम फैलाउनु अत्यन्त कपोकल्पित र मनगढन्ते कुरा हो । खताग चीनको राष्ट्रपति सी जिन पिंगले समेत निर्बाध ग्रहण गरिरहनु भएको छ । खतागलाई पटक पटक प्रयोग गर्न सक्ने भएकोले आर्थिक रुपमा सुलाभ र वातावरणमा पनि केहि असर गर्दैन । अहिलेसम्म खताग बेबारिसे अवस्थामा कहि कतै देखिन्दैन । हाल अमेरिकामा मात्र खताग प्रयोग गर्नेको संख्या एक लाख भन्दा बढी छ र एउटा विवाहमा कम्तीमा पनि एक हजार भन्दा बढी खताग प्रयोग हुन्छ । नेपाल लगायत विश्वका बिभिन्न देशहरुमा खाताको प्रचलन ब्यापक देखिन्छ । बिदेशस्थित नेपालका हिमाली समुदाय लगायत तिब्बती, भारतको बिभिन्न स्थानहरु र भुटानले समेत खताग, धोज पत्ता र धुप नेपालबाटै आयात गर्ने भएकोले ठुलो मात्रामा बिदेशी मुद्रा नेपालमा भित्रिने देखिन्छ ।
विदेशबाट आयातित खतागभन्दा स्वदेशमै उत्पादित खतागको प्रयोग गर्नु पर्दछ भन्ने अभियान चलाई रहनुभएका अभियन्ताहरुलाई आभार ब्यक्त गर्न चाहन्छु । विदेशबाट आयातित बस्तुहरुलाई भन्दा स्वदेशी उत्पादनलाई प्रसय दिदै गर्दा विवाहमा लगाउने रातो सिन्दुरको अलाबा स्वदेशी अंगरबाट निर्मित कालो रंगले सिउदो रंगाउन शोभनीय देखिदैन । तपाईहरुले स्वदेशमामै खताग उत्पादन गर्ने हो भने खतागलाई झल्किने सदा सेतो रंगको खताग उत्पादन गरी प्रयोग गरे विवाद रहित हुने देखिन्छ । स्वदेशी उत्पदानलाई बढी महत्व दिनु पर्ने कुरालाई बाहना बनाएर कराडौ मानिसहरुको आस्था र भावनासँग जोडिएको खतागलाई प्रहार गरी आँखाको कसिङ्गार बनाउनु पर्नेमा आवश्यकता देख्दिन । हाल नेपालमा उत्पदित स्वदेशी खताग भनिने पनि राङ्गिबिराङ्गी कपडाको टुक्राले पवित्र खतागलाई प्रतिस्थापन गर्न सकिदैन ।