फुलमान तामाङ
नेपाली कांग्रेस जिल्ला सभापति विकास लामाले हालै बाह्रबिसे नगरपालिकाको साँधीखोलामा गएको पहिरोबारे सरकारले ध्यान नदिएको आरोप लगाएका छन् । बुधबार पहिरोले क्षतिग्रस्त सडक र पुलको निरीक्षणपछि सभापति लामाले उक्त भनाई राखेका हुन् । भदौ ३ गते राति साँधीखोलाको पुल पहिरोले भत्काएपछि बाढी बजारमा पसेर बगरमा परिणत गरेको थियो।
पहिरोका कारण वडा ४ का घरहरु र भण्डारी गाउँ जोखिममा परेको उल्लेख गर्दै केही दिन अघि खसेको पहिरोको नगरपालिकाका मेयरलगायतले वेवास्ता गर्दा यस्तो घटना भएको दाबी गरे । लामाले भने, ‘घटना हेर्दा पूर्व तयारी गरेको भए पुलसमेत जोगिने अवस्था देखियो। अहिले पहिरोले पुल बगाउँदा पनि मेयरले केही ध्यान दिएको देखिएन,’ सभापति लामाले भने ।
संसद अग्नि सापकोटा निरीक्षणमा आएपनि उनले नगरपालिकालाई निर्देशन दिएर गएको र काम केही नभएको आरोप लगाए । ‘पहिरो जानसाथ आफूले सहयोग गर्ने राज्यका निकायलाई उद्धार तथा राहतका लागि आग्रह गरेका थियौ । मन्त्रीहरु आएर अवलोकन गर्ला भन्ने हामीलाई लागेको थियो । स्थानीय तहमा पनि ने क पाकै प्रमुख छ। देशमा पनि ने क पाकै प्रमुख। तर ने क पाको सरकारले सहयोग गरेन,’ लामाले थपे ।
बाह्रबिसेका मेयर निमफुन्जो शेर्पा पूर्व एमालेबाट निर्वाचित भएका हुन्। साँधीखोलाको पुल बगाउनुभन्दा केही दिन अगाडि नै उक्त क्षेत्रमा पहिरो शुरु भएको थियो । चीनको नाका र तातोपानी जस्तो प्रसिद्ध धार्मिक स्थल जोड्ने पूलसमेत रहेको यो पुल बगाउँदा सरकारले अझैसम्म कुनै सहयोग नगरेको उल्लेख गर्दै उनले तत्काल अस्थायी पुलको ब्यबस्था गरिनुपर्ने र पहिरो रोकथाम ब्यबस्था गरिदिन माग गरेका छन् ।
निरीक्षणमा सभापति लामासहित लीला नेपाल , बलदेव तिमल्सिना , सोनाम थिङ , गणेश सिग्देललगायतका नेताहरु पुगेका थिए ।