काठमाडौं । तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार-२८५५ फाग् ल्हो (सुंगुर वर्ष)को राजधानीको टुँडिखेलमा माघ २१ र २२ गते मनाउने भएको छ ।
मंगलवार राजधानीको चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको सभाहलमा पत्रकार सम्मेलन गरी आउँदो ल्होछार दुई दिनसम्म मनाइने तयारी भएको घेदुङका महासचिव मोहित घिसिङले जानकारी दिए ।
तामाङ घेदुङको संयोजकत्व, नेपाल राष्ट्रिय तामाङ घेदुङको सहसंयोजकत्व साथै सय भन्दा बढी तामाङ संघ संस्थाहरु सम्मिलित सोनाम ल्होछार मूल आयोजक समिति गठन भइसकेको जानकारी दिएका थिए ।
‘सोनाम ल्होछारको प्रवर्द्धन, हाम्रो साँस्कृतिक सरोकार, ताम्सालिङ प्रदेशको स्थापना, हाम्रो राजनीतिक आधार’ मुल नाराका साथ मनाइने तामाङ साँस्कृतिक महोत्सवमा प्रधानमन्त्री केपी ओली प्रमुख अतिथिका रुपमा उपस्थित हुने घेदुङले जनायो ।
कार्यक्रममा नेपाल तामाङ राष्ट्रिय घदुङको अध्यक्ष एवं मूल समारोह समितिको सहसंयोजक बीर बहादुर योञ्जन, नेपाल तामाङ घेदुङको महासचिव बाबु घिसिङ, नेपाल तामाङ घेदुङको उपअध्यक्ष कुमार घिसिङ, नेपाल तामाङ घेदुङको सदस्य सितालामा गोले, सदस्य विकास लामालगायतको उपस्थिति रहेको थियो ।
यस्तो छ ल्होछार कार्यतालिका
१. २०७५ माघ २१ गते विहान ११ : ३० देखि मैत्रीपूर्ण ल्होछार कप फुटबल प्रतियोगिता सञ्चालन हुनेछ ।
२. २०७५ माघ २१ गते दिउँसो १ : ३० बजेदेखि ताम्बा, लामा र बोन्बोबाट साङ्सेरगेम, पूजापाठ, साँस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान तथा महोत्सवलाई विधिवत् शुभारम्भ गरिनेछ ।
३. २०७५ माघ २१ गते साँझ ६ : ०० बजेदेखि खि ल्हो(कुकुर बर्ष) को बिदाई तथा फाग् ल्हो (सुंगुर बर्ष)को स्वागतमा ल्होछार इभ (दिपावली) गरिनेछ ।
४. २०७५ माघ २२ गते बिहान ११ : ०० बजेदेखि रत्नपार्क, शान्ति बाटिकाबाट ताम्बा, लामा र बोन्बो झाँकी सहित हजारौंको संख्यामा आ-आफ्नो संस्थाको ब्यानरमा र्याली सुरु गरिने छ ।
५. २०७५ माघ २२ गते दिउँसो १२ : ०० बजेदेखि कार्यक्रमको समुद्घाटन, शुभकामना मन्तब्य, झाँकी प्रदर्शनी तथा दिनभर तामाङ कलाकारहरुद्वारा आकर्षक तामाङ गीत, नृत्य र साहित्य प्रस्तुत गरिनेछ ।
६. कार्यक्रम अवधिभर विभिन्न स्टलहरुमा तामाङ खानापीन, भेषभूषा, तामाङ पुस्तक, मौलिक कला, संस्कृति र अन्य महत्वपूर्ण सामाग्रीहरुको प्रदर्शनी तथा स्वास्थ्य शिबिर निरन्तर सञ्चालन हुनेछ ।
७. २०७५ माघ २२ गते साँझ ७ : ०० बजे मूल समारोहको आयोजनामा हुने सम्पूर्ण कार्यक्रमलाई समापन गरिनेछ ।