वाइडेनको चुनावी जोडीमा कमला छानिइन्

२०७७ श्रावण २८, बुधबार ११:०९

न्युयोर्क । नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेनले उप-राष्ट्रपति पदका लागि सिनेटर कमला ह्यारिसलाई छनौट गरेका छन् ।

मंगलबार कमलालाई उप-राष्ट्रपतिका रूपमा आफ्नो साथमा उभ्याउने घोषणा वाइडेनले गरेका हुन् । उपराष्ट्रपतिको लागि उम्मेदवारी पाउने उनी पहिलो अस्वेत अमेरिकी हुन् ।

‘एउटा निर्भिक योद्धा र देशको उत्कृष्टमध्येको एक जनसेवकलाई मेरो सहयात्रीका रूपमा उठाउने घोषणा गर्ने गौरव मलाई प्राप्त भएको छ’, वाइडेनले ट्विटमा भनेका छन् ।

५५ वर्षीया कमला क्यालिफोर्नियाकी सिनेटर छिन् । उपराष्ट्रपतिको रुपमा वाइडेनको चुनावी जोडी को बन्ला भन्ने लामोसमयदेखि चर्चामा थियो । यद्यपी वाइडेनले आफ्नो उपराष्ट्रपति अश्वेत महिला हुने कुरा बताउँदै आएका थिए ।

ह्यारिस यस पदमा टिकट पाउने पहिलो एसियन-अमेरिकन समेत हुन् । उनकी आमाको जन्म भारतमा भएको थियो । उपराष्ट्रपति पदमा आफूलाई चयन गरिएपछि ह्यारिसले वाइडनले नै अमेरिकीहरूलाई एकताबद्ध गर्ने सक्ने बताएकी छन् ।

वाइडेन र ह्यारिस बुधबार चुनावी अभियानका लागि वाइडेनको गृहनगर विलमिङटन, डेलावेरमा पहिलोपटक एकसाथ प्रस्तुत बताइएको छ ।

सम्बन्धित समाचार