माओवादी नेता वर्षमान पुनले सुन तस्करी सम्बन्धमा छानविन होस भन्ने चाहेको बताएका छन् । साथै आफु दोषी देखिएर जस्तोसुकै सजाय भोग्न तयार रहेको पनि बताएका छन् ।
उनले सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूससँग कुराकानी गर्दै ८ वर्ष पहिलेको पारिवारिक फोटो सार्वजनिक गरेर जनता र शुभचिन्तकमा भ्रम छर्न खोजिएको बताए ।
आइतबार सुन तस्करीको आरोमा पक्राउ परेका तिब्बती मूलका दावा छिरिङसँगको भेटघाट तथा खानपानको तस्बिरहरु सार्वजनिक भएपछि उनले यसरी स्पष्टिकरण दिएका हुन् ।
‘८ वर्ष पहिलेको पारिवारिक खालको फोटो राखेर अहिले संगै खाएको जस्तो देखाएको छ । त्यसमा मेरो आपत्ति छ । मैले सार्वजनिक रुपमा पनि बोलेको छु,’ पुनले भने, ‘म आम जनसमुदाय र शुभचिन्तकमा भावनात्मक चोट पुगेको छ । नेताहरूपनि यसरी बेठिक मान्छेसँग संगत गर्दा रहेछन् भन्ने परेको छ । यसमा म माफी चाहन्छु ।’
आगामी दिनमा कस्ता मान्छेसँग संगत गर्ने भन्ने कुराको पाठ यो प्रकरणबाट आफूलाई मिलेको पनि उनले बताए ।
‘आगामी दिनमा हामी कोहीपनि नेतृत्व सुसूचित हुन सजिलो छ । आगामी दिनमा प्राइभेट जीवनमा कस्ता मान्छेसँग संगत गर्ने नगर्ने भन्नेबारेमा राम्रो शिक्षा दिएको छ,’ उनले भने, ‘जुन प्रचार भएको छ, राज्यको कुन निकायले मेरोमाथि छानबिन गर्ने हो गरोस्, म त्यसका लागि तयार छु । दोषी ठहरिएको खण्डमा म जे सजाय भोग्नपनि तयार छु ।’
उनले राज्यको जुनसुकै निकायबाट अनुसन्धान भएपनि आफू उभिन तयार रहेको पनि प्रष्ट पारे ।