लगातार झरी परेको पछिल्लो दुई दिनमा मुलुकभर १४ जनाले ज्यान गुमाएका छन् भने २ जना बेपत्ता र १९ जना घाइते छन् । त्यसो त मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो, भारी वर्षाका घटनाबाट असार २२ र २३ गते तनहुँ र स्याङ्जामा ३/३ जनाको मृत्यु भएको छ । काभ्रे, पर्वत र दाङमा २/२ तथा काठमाडौं र उदयपुरमा १/१ जनाको मृत्यु भएको छ ।
शुक्रबार रातिदेखिको अविरल वर्षाले तराई मधेशमा डुबान र पहाडमा पहिरोको प्रकोप देखिएको छ । त्यसैगरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पनि जलमग्न भएका छन् । त्यसबाट १४७ परिवार प्रभावित भएका छन् ।
घर, सडक लगायतका भौतिक संरचनामा समेत क्षति पुगेको छ । राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रमा अभिलेख भएका १०४ घटनाबाट १४ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारदेखि काठमाडौं उपत्यका सहितका पूर्वी भागमा तुलनात्मक रूपमा मौसममा सुधार देखिएको छ । तर सुदूरपश्चिम र कर्णाली प्रदेशको तल्लो भाग भने प्रभावित हुनेछ । सोमबारदेखि मौसममा सुधार हुने बताइएको छ ।