५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

हुथीमाथिको अमेरिकी आक्रमणको लागत एक अर्व डलर, प्रभाव भने सीमित



इरान समर्थित यमनी विद्रोही हुथी समूहविरुद्ध अमेरिकी सैन्य अभियानको लागत एक अर्ब डलर नजिक पुगेको बताइएको छ । तर यसले विद्रोही समूहको क्षमतामा उल्लेखनीय हानी पुर्‍याउन नसकेको बताइन थालेको छ ।

सीएनएनका अनुसार मार्च १५ देखि सुरु भएको सैन्य आक्रमणमा जेएएसएसएम क्रूज मिसाइल, जीपिएस-नियन्त्रित जेएसऔडब्लु बम, र टोमाहक मिसाइलजस्ता अत्याधुनिक हातहतियार प्रयोग गरिएको छ । साथै बी–२ बमवर्षक विमानहरु प्रयोग गरिएको छ भने अर्को विमानवाहक युद्धपोत र लडाकु विमान स्क्वाड्रनहरू समेत मध्यपूर्वमा परिचालन गर्ने तयारी भइरहेको छ ।

यद्यपी अमेरिकाले हुथीका केही नेताहरू र सैन्य ठेगानाहरु नष्ट गर्नु बाहेक समूहले अझै भूमिगत बंकरहरू बलियो बनाउँदै शस्त्र भण्डारण कायम राख्न सफल भएको अधिकारीहरुले बताएका छन् । हुथीहरूले रेड सीमा अमेरिकी ड्रोनहरू खसाल्न र व्यापारीक पानीजहाजहरूमा आक्रमण गर्नबाट अझै रोक्न सकेको छैन ।

“केही साइटहरू नष्ट गरिएको भए पनि यो हुथीको क्षमतामा खासै प्रभावकारी देखिएन,” सीएनएनसँग एक सैनिक अधिकारीले भनेका छन्, “बरु, हामी एमुनिसन, इन्धन र जनशक्ति खपत गरेर आफ्नै सैन्य तयारी कमजोर पारिरहेका छौं ।”

यो सैन्य अभियान ट्रम्प प्रशासनको निर्देशनमा चलिरहेको छ र अहिलेको “२४/७” अपरेशन नीति अन्तर्गत उच्च तहको स्वीकृति नलिई कमाण्डरहरूले सिधै कारवाही गर्न सक्ने व्यवस्था गरिएको छ । यो नीति राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालको शैलीमा फर्किएको हो ।

तर अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले यसलाई “भूल” भनेका छन् । अभियानलाई डेमोक्र्याट र रिपब्लिकन दुवै पक्षबाट आलोचना भएको छ । पेन्टागनले चालु अपरेशनका लागि थप बजेट माग गर्न सक्छ, तर त्यसको पारित हुने सम्भावना कम देखिन्छ ।

अधिकारीहरूले जनाएअनुसार, हालसम्म मारिएका अधिकांश हुथी नेताहरू “मिड–लेभल म्यानेजमेन्ट” स्तरका छन् । अपवादका रूपमा हुथीको ड्रोन अपरेशन प्रमुख एक हवाई हमलामा मारिएका छन्। उनलाई उनकी प्रेमिकाको भवनमा रहेको बेलामा आक्रमण गरिएको थियो, जुन भवन भत्किंदा उनको मृत्यु भयो ।

तर केही अधिकारीहरूले उक्त भवन आवासीय नभई हुथी नेताहरूको बैठकस्थल भएको दाबी गरेका छन् । अमेरिकी पक्षले सबै आक्रमणहरूमा “प्रिसिजन एमुनिसन” प्रयोग गरेर सर्वसाधारणलाई क्षति नपुग्ने ध्यान दिएको बताइएको छ ।

यस अभियानले प्रशान्त क्षेत्रको सैन्य तयारीमा असर पार्न सक्ने चिन्ता उठाइएको छ। लामो दूरीका क्षेप्यास्त्रहरू प्रशान्त क्षेत्रमा चीनसँगको सम्भावित संघर्षमा महत्त्वपूर्ण मानिन्छन् । तर केन्द्रीय कमाण्डका अधिकारीहरूले यो चिन्ता “अतिरञ्जना” भएको प्रतिक्रिया दिएका छन् ।

अधिकारीहरुले हुथीहरूले रेड सीमा आक्रमण बन्द नगरेसम्म कारवाही जारी रहने बताएका छन् । तर, हुथीहरूले अझै अमेरिकी ड्रोन खसाल्ने, मिसाइल प्रहार गर्ने गरिरहेका छन् । यसले हुथीमाथिको अमेरिकी आक्रमण आर्थिक रूपमा महँगो र रणनीतिक रूपमा विवादास्पद बन्दै गएको बताइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शनिबार  १० : ०७ बजे