९ असार २०८२, सोमबार | Tue Jun 24 2025

वसन्त ऋतुको सगरमाथा आरोहणमा हालसम्म ३९५ जना सफल



 वसन्त ऋतुको जारी हिमाल आरोहण सिजनमा हालसम्म ३९५ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार तीमध्ये १३५ जना विदेशी आरोही र २३५ जना शेर्पा सहयोगी छन्। त्यस्तै, शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीमा सात जना सहभागी छन्।

विभागका अनुसार हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित जम्मा ४६८ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन्। यसपटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही नेपाल आएका छन्।

सगरमाथासहित अन्य २७ हिमालका लागि यो वसन्त याममा कुल १२७ आरोही समूहका एक हजार १६८ जनाले आरोहण अनुमति लिएका छन्।

यसअघि, मौसम अनुकूल भएसँगै गत आइतबार मात्रै १३५ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए। मौसम, तयारी र टोलीको समन्वय राम्रो भएसँगै यसपटक सगरमाथा आरोहणको लय सकारात्मक देखिएको छ।

सरकार र पर्यटन व्यवसायीहरूका अनुसार सुरक्षित र व्यवस्थित हिमाल आरोहणका लागि आवश्यक पूर्वाधार, जनशक्ति र मौसम पूर्वानुमान प्रणालीलाई थप सुदृढ बनाउने प्रयास भइरहेको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बुधबार  १२ : ३८ बजे