पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीरको उजुरीमा नेपाल प्रहरीको साइवर व्यूरोले जिल्ला अदालतबाट पक्राउ अनुमति लएको थियो ।
उक्त पक्राउ आदेशबिरुद्ध यसअघि उक्त अदालतले अल्पकालिन अन्तरिम आदर्श जारी गर्दै कानुन अनुसार मात्र पक्राउ गर्नु भनेको थियो । त्यसपछि प्रहरीले पाठकलाई साइवर व्यूरोमा उपस्थित हुन सूचना जारी गरेको थियो ।
त्यही मुद्दाको सुनुवाई गर्दै बिहीबार न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले नपक्रन आदेश दिएको हो ।
उच्च अदालतले जारी गरेको आदेशमा भनिएको छ,’सम्प्रेषित गरिएको सामग्रीबाट कसुर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था स्थापित भएको नदेखिँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म पक्राउ नगर्नु/नगराउनु ।’
सोमबार उच्च अदालत पाटनका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशमा भनिएको थियो, ‘पाठकको निषेधाज्ञा निवेदनमाथि अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।’
प्रहरीको साइबर ब्युरोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि पत्रकार पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन दिएका थिए ।
पाठकले आफ्नो कार्यक्रम ‘टफ टक’ मार्फत ‘ हिल्टन होटलको सेयर खरिद बिक्रीका विषयमा जयवीरसिंहको संलग्नताबारे ‘हिल्टनमा जयवीर देउवाको पैसा!’ शीर्षकमा भिडियो सामग्री प्रस्तुत गरेका थिए ।











