२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

बागमतीको कांग्रेस संसदीय दलको नेतामा बानियाँ विजयी, मुख्यमन्त्री बहादुरसिंह लामाको पद धरापमा



नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा सांसद ईन्द्रबहादुर बानियाँ निर्वाचित भएसँगै प्रदेशमा नयाँ राजनीतिक समिकरणको चर्चा चुलिएको छ । कांग्रेस संसदीय दलको नेताबाट बहादुरसिंह लामा तामाङ पराजित भएसँगै उनको मुख्यमन्त्री पद धरापमा परेको छ ।

बुधबार हेटौंडामा भएको दल नेता चयनका लागि मतदानमा बानियाँले लामालाई ८ मतको अन्तरले पराजित गरेका थिए । कुल ३७ सांसदमध्ये लामाले १४ मत पाए भने बानियाँले २२ मत ल्याए । एक मत बदर भयो, जुन बानियाँ पक्षकै रहेको दाबी गरिएको छ ।

संसदीय दल नेता गुमाए पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडानमा रहेका लामाले संविधानको धारा १६८ (२) अनुसार दल नेता नभए पनि मुख्यमन्त्री बन्न सकिने जिकिर गरेका छन् । “यो गठबन्धन सरकार हो, दल नेता नभए पनि मुख्यमन्त्री रहन सकिन्छ,” उनले पत्रकारहरूसँग भनेका छन् ।

लामाले आफूलाई मन्त्री र नेताहरूको ‘प्रपञ्च’ मार्फत हराइएको आरोप समेत लगाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले राजीनामा दिन सुझाव दिए पनि लामा असन्तुष्ट छन् । उनले आफ्नै मन्त्रिपरिषद्का पाँच मन्त्रीले राजीनामा दिएकोप्रति पनि खिन्नता व्यक्त गरेका छन् ।

दल नयाँ नेता बानियाँले मुख्यमन्त्री लामालाई मार्गप्रशस्त गर्न आह्वान गरेका छन् । “लोकतान्त्रिक परम्पराअनुसार पद त्याग गर्नुपर्छ, उहाँले नगरे प्रक्रिया अनुसार अघि बढ्छौं,” बानियाँले चेतावनी दिएका छन् ।

उनका अनुसार लामाले आफूले गुमाएको दल नेतृत्वको नैतिक जिम्मेवारी लिइ मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ । अन्यथा कांग्रेसले पार्टी निर्देशन, अविश्वास प्रस्ताव वा गठबन्धन सहयोग फिर्ता गर्ने बाटा खोल्न सक्छ ।

प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत छैन । २७ सिटसहित एमाले प्रमुख सत्ता साझेदार हो । कांग्रेसभित्र बानियाँ पक्षमा २२–२३ जना सांसद छन् । एमालेले समर्थन फिर्ता लिएको खण्डमा लामाले एक महिनाभित्र विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यो अवस्थामा विश्वास मत जुटाउन नसके लामा पदमुक्त हुनेछन् र नयाँ नेतृत्वको बाटो खुल्नेछ ।

तर संविधानको धारा १८८ को उपधारा ४ अनुसार लामा मुख्यमन्त्री नियुक्त भएको एक वर्ष (साउन ८ गते) पूरा भएकाले अब अविश्वास प्रस्ताव पेस गर्न सकिने अवस्था बनेको छ । त्यसका लागि कम्तीमा २८ सांसदको हस्ताक्षर आवश्यक पर्छ ।

लामाको नेतृत्वमा आएको बजेटले कांग्रेसभित्रै असन्तुष्टि जन्माएको थियो । आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ल्याएको ६७ अर्ब ५७ करोडको बजेट ‘टुक्रे योजना’, फरक प्रदेशमा बजेट विनियोजन, र समानुपातिक सांसदलाई अनावश्यक रकम विनियोजन गरेको आरोप लाग्दै आएको छ ।

यही असन्तुष्टिको लहरले बानियाँ पक्ष बलियो बनायो । पार्टीभित्र लामाको स्थायित्वमाथि प्रश्न उठ्न थालेको बेला बानियाँले दल नेतृत्वमा पुनरागमन गर्न सफल भए ।

बानियाँ दल नेता बने पनि मुख्यमन्त्री बन्ने बाटो अझै खुल्न बाँकी छ । अब लामा स्वयंले पद छाड्ने वा प्रक्रियाबाट पदमुक्त गरिने भन्ने निर्णय आउँदो केही दिनमा स्पष्ट हुने संकेत देखिएको छ । एमालेको भूमिका निर्णायक हुने छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बुधबार  १० : ०४ बजे