२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

न्यूयोर्क टाइम्सले पेन्टागनको प्रेस प्रतिबन्धविरुद्ध अमेरिकी रक्षा मन्त्रालयमाथि मुद्दा दायर



अमेरिकाको प्रतिष्ठित पत्रिका द न्यूयोर्क टाइम्सले पेन्टागनले पत्रकारहरूमाथि कडा प्रतिबन्ध लगाएपछि रक्षा मन्त्रालयविरुद्ध संघीय अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया शुरू गरेको छ । फेडरल अदालत, वाशिङटन डीसीमा दर्ता गर्न लागिएको यो मुद्दामा रक्षा मन्त्रालय, रक्षा मन्त्री पिट हेगसेथ र पेन्टागनका मुख्य प्रवक्ता सीन पार्नेललाई प्रतिवादी बनाइएको छ ।

मुद्दामा अक्टोबर महिनामा पेन्टागनले ल्याएको नयाँ प्रेस पहुँच नीतिलाई खारेज गर्न माग गरिएको छ । सो नीतिको विरोधस्वरूप पेन्टागनका नियमित बीट रिपोर्टरहरूले आफ्ना प्रेस पास फिर्ता गरेका थिए । “सरकारलाई मन नपर्ने समाचार नियन्त्रण गर्ने प्रयास” भएको टिप्पणी गर्दै यो कदमले संविधानले प्रदत्त प्रथम र पाँचौँ संशोधनअन्तर्गत प्रेस स्वतन्त्रताको हक उल्लङ्घन गरेको बताइएको छ ।

सञ्चार माध्यमका धेरै प्रतिनिधिहरूले रक्षा मन्त्री हेगसेथको यो नीति ट्रम्प प्रशासनप्रतिको स्वतन्त्र खोजी र आलोचना रोक्ने उद्देश्यसहित लागू गरिएको आरोप लगाएका छन् ।यसै हप्ता हेगसेथले दर्जनौँ प्रोट्रम्प प्रभावशाली व्यक्तिहरू र सामग्री निर्मातालाई पेन्टागनमै ‘ओरिएन्टेसन’ कार्यक्रमका लागि बोलाएका थिए । यी सामग्री निर्माताले विवादास्पद नयाँ नीति सहजै स्वीकार गरेका छन् ।

उनीहरूलाई पेन्टागनको “नयाँ प्रेस कोर्प्स” भनेर प्रचार गरिएको छ, यद्यपि उनीहरूसँग सैन्य रिपोर्टिङको अनुभव अत्यन्त सीमित छ । यसअघि पेन्टागनभित्रबाट बीट कभर गर्दै आएका अनुभवी पत्रकारहरू जसमध्ये न्यूयोर्क टाइम्स र सीएनएनको टोलीले प्रेस ब्रीफिङमा सहभागी हुन चाहे पनि उनीहरूलाई प्रवेश दिइएको थिएन ।

पेन्टागनका प्रवक्ता पार्नेलले पत्रकारहरूले “आफैँ पर्खालबाहिर बस्ने निर्णय गरे” भन्दै टिप्पणी गरेका थिए । पेन्टागन प्रेस एसोसिएसनले टाइम्सको कदमलाई स्वागत गर्दै यो मुद्दा “प्रेस स्वतन्त्रताका लागि महत्वपूर्ण” भएको बताएको छ ।

टाइम्सले यस मुद्दामा फक्स न्युज, न्युजम्याक्स जस्ता दर्जनौँ अन्य मिडियाहरू पनि आफ्नो समर्थनमा उभिएको उल्लेख गरेको छ । यद्यपि मुद्दा औपचारिक रूपमा दर्ता गर्ने पहिलो संस्था टाइम्स भए पनि अन्य समाचार संस्थाहरूले पनि सपोर्टिङ ब्रीफ दर्ता गर्ने तयारी गरिरहेका छन् ।

रिपोर्टर्स कमिटी फर फ्रीडम अफ द प्रेसले पनि पेन्टागनको नीतिलाई “पूर्ण रूपमा अवैध” भन्दै समर्थन जनाएको छ । समितिका नीति उपाध्यक्ष गेब रोटमनले भनेका छन्, “पेन्टागनको नीति असंवैधानिक छ, किनकि यसले सरकारी अधिकारीलाई कुन पत्रकार भित्र छिर्ने, कुन छैन भन्ने एकलौटी अधिकार दिन्छ । यस्तो अधिकार संविधानले रोक्छ ।”

उनका अनुसार, अहिले पेन्टागनको कार्यशैलीमाथि बढ्दो सार्वजनिक निगरानीको समयमा स्वतन्त्र पत्रकारितालाई भित्री पहुँच नदिनु खतरनाक छ । मुद्दाको बहसले अमेरिकी प्रेस स्वतन्त्रता र सरकारी पारदर्शिताबारे ठूलो बहस जन्माउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, बिहिबार  १० : ३४ बजे