अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता अन्तर्गत आउने सामानहरूमा मेक्सिकोले २ अप्रिलसम्म भन्सार शुल्क तिर्नु नपर्ने घोषणा गरेका छन् ।
ट्रम्पले क्यानडालाई पनि यो अस्थायी छुट लागू हुने वा नहुनेबारे स्पष्ट पुष्टि गरेका छैनन् । तर, क्यानाडाली सरकारी स्रोतका अनुसार, क्यानडाले पनि “यस्तै प्रकारको” छुट पाउने अपेक्षा गरेको बीबीसीले जनाएको छ । ट्रम्प प्रशासनले पछिल्ला दुई दिनमा दोस्रो पटक आफ्नो भन्सार नीतिमा परिवर्तन गरेको हो । बुधबार मात्र ट्रम्पले २५% आयात करबाट अस्थायी रूपमा गाडी उत्पादकहरूलाई छुट दिने घोषणा गरेका थिए, जुन शुल्क एक दिनअघि मात्र लागू भएको थियो ।
अमेरिकी व्यापार सचिव होवार्ड लुटनिकले बिहीबार सीएनबीसीसँगको कुराकानीमा क्यानडा र मेक्सिकोबाट आयात हुने गाडी पार्टपुर्जामा भन्सार छुटको समयावधि लम्ब्याउन सकिने बताएका छन्। साथै, सम्झौतामा पर्ने सबै वस्तुहरूमा पनि यो लागू गर्न सकिने सम्भावना रहेको उल्लेख गरेका छन् ।
सन् २०२० मा हस्ताक्षर भएको उक्त सम्झौताले गाडी, दुग्धजन्य उत्पादन, काठलगायत वित्तीय सेवा जस्ता क्षेत्रलाई समेट्छ । सम्झौताअनुसार प्रत्येक ६ वर्षमा पुनरावलोकन गर्नुपर्ने प्रावधान छ ।
ट्रम्पले ‘ट्रुथ सोसल’ मा लेख्दै, “मेक्सिकोका राष्ट्रपति क्लाउडिया शिनबामसँगको कुराकानीपछि यूएसएमसीए अन्तर्गत पर्ने कुनै पनि सामानमा मेक्सिकोले भन्सार तिर्नु नपर्ने सहमति भएको छ,” भनेका छन् ।
शिनबामले ट्रम्पसँगको वार्ता “उत्कृष्ट र सम्मानजनक” रहेको बताउँदै, मेक्सिकोबाट अमेरिका जाने फेन्टानाइलको ओसारपसार रोक्न तथा अमेरिका हुँदै मेक्सिकोमा आउने हतियार तस्करी नियन्त्रण गर्न सहकार्य गर्ने सहमति भएको उल्लेख गरेकी छन् ।
क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले व्यापार सचिव लुटनिकको टिप्पणीलाई “उत्साहजनक” बताउँदै, क्यानडालाई पनि अस्थायी छुट दिने घोषणा हुनसक्ने संकेत गरेका छन् ।
तर, ट्रम्पले ट्रुडोलाई सामाजिक सञ्जालमा “क्यानडाका लागि नराम्रो काम गरेको” आरोप लगाएका छन् । यद्यपि, ट्रम्पको आलोचनाबीच क्यानडाले पनि छुट पाउने सम्भावना रहेको बताइएको छ ।
ओबीच, ओन्टारियोका प्रिमियर डग फोर्डले सीएनएनसँग कुरा गर्दै, सोमबारदेखि ओन्टारियोले न्यूयोर्क, मिशिगन र मिनेसोटाका १५ लाख घर तथा व्यवसायलाई प्रदान गरिने विद्युतमा २५% भन्सार शुल्क लगाउने बताएका छन् ।
अमेरिका, क्यानडा र मेक्सिकोबीच दैनिक रूपमा अर्बौं डलरको व्यापार हुने गर्छ । यी तीन देशका अर्थतन्त्र एकअर्कासँग गहिरो रूपमा जोडिएका छन् ।
भन्सार शुल्क लागू भएपछि अमेरिका, छिमेकी मुलुकहरू र चीनबीच व्यापार युद्ध चर्किएको छ । ट्रम्पले भन्सार नीति अमेरिकी उद्योगको संरक्षण गर्न र स्वदेशी उत्पादन बढाउन ल्याइएको बताउँदै आएका छन् । तर, अर्थशास्त्रीहरूले अमेरिकी उपभोक्ताले महँगो भुक्तानी गर्नुपर्ने चेतावनी दिएका छन् ।
भन्सार शुल्क आयात गर्ने व्यवसायले तिर्नुपर्ने हुन्छ । अमेरिका, क्यानडा र मेक्सिकोबीचको आपूर्ति श्रृंखला अत्यधिक परस्पर निर्भर रहेकाले अमेरिकी व्यवसायहरूले भन्सार शुल्कले उनीहरूको लागत बढ्ने चिन्ता व्यक्त गरेका छन् ।
ट्रम्पले २५% भन्सार शुल्क घोषणा गरेपछि क्यानडा र मेक्सिकोले पनि अमेरिकी सामानमा बदला स्वरूप आयात कर लगाउने घोषणा गरेका थिए ।
यसैबीच, बिहीबार अमेरिकी वाणिज्य विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, भन्सार शुल्कको त्रासले अमेरिकी आयात जनवरीमा तीव्र रूपमा वृद्धि भएको देखिएको छ । अमेरिकाको व्यापार घाटा ३४% ले बढेर १३० अर्ब डलर पुगेको छ, जबकि जनवरी महिनाको आयात १०% ले वृद्धि भएको छ ।









