शंखरापुर नगरपालिका–६, साँखुस्थित एक आश्रयस्थलमा टिपर पस्दा ३ जनाको मृत्यु भएको छ । सलम्बुटारस्थित सडकमुनि रहेको एक टहरामा सुतिरहेकाहरुलाई अनियन्त्रित टिपरले किचेर मारेको हो । मृत्यु हुनेहरु २१ वर्षीय आकाश र सुमन तथा ४५ वर्षीय हरिजनको रहेको बताइएको ।
जस्तापाताले बनेको उक्त टहरामा द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बेसहारा बालबालिका र वृद्धवृद्धाहरूका लागि आश्रयस्थल सञ्चालन गर्दै आएको छ ।
साँखु-ब्रह्मखेल सडक खण्डअन्तर्गत शुक्रबार बिहान ३:१५ बजे सडकमा गुडिरहेको बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भइ सडकमुनि रहेको उक्त टहरामा पसेको थियो । टिपरले किचेर घाइते भएका उनीहरूलाई उपचारका लागि नेपाल मेडिकल कलेज पुर्यायए पनि अस्पतालले मृत घोषणा गरेको हो ।
टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ का २५ वर्षीय सागर माझीलाई नियन्त्रणमा रहेका काठमाडौँ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आश्रयस्थलमा ६१ जना बस्दै आएका छन् ।









