११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

सरकारको आश्वासनपछि पुनः सञ्चालनमा आए चिया उद्योग



भारततर्फ चिया निर्यातमा देखिएको अवरोधका कारण बन्द भएका पूर्वी नेपालका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिया क्षेत्रका समस्या समाधानका लागि कूटनीतिक तथा प्रशासनिक पहल गर्ने प्रतिबद्धता जनाएपछि उद्योगीहरूले आन्दोलन स्थगित गर्दै उद्योग खोल्ने निर्णय गरेका हुन् ।

भारतीय पक्षले नेपालबाट निर्यात भएका तयारी चियालाई प्रयोगशाला परीक्षणको बहानामा रोक्न थालेपछि करिब तीन लाख केजी चिया भारतीय गोदाममा थन्किएको थियो । त्यस्तै, १० लाख केजीभन्दा बढी चिया नेपालकै गोदाममा मौज्दात भएपछि उद्योगीहरू आन्दोलित बनेका थिए । यही समस्याका कारण इलामका उद्योगीहरूले असार १ गतेदेखि र झापाका उद्योगीहरूले असार ४ गतेदेखि उद्योग बन्द गरेका थिए ।

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार प्रधानमन्त्री कार्यालयले समस्या समाधानमा चासो देखाउँदै यथाशीघ्र कूटनीतिक पहल गर्ने आश्वासन दिएपछि उद्योगहरू पुनः सञ्चालनमा ल्याइएको हो । उनका अनुसार बिहीबार केही उद्योग सञ्चालनमा आएका छन् भने शुक्रबारदेखि झापा, इलामसहित पूर्वी नेपालका सबै चिया उद्योग पूर्ण रूपमा खुल्नेछन्। चिया बगानहरूमा पनि नियमित रूपमा काम सुरु हुने उनले बताए ।

यसअघि प्रधानमन्त्री कार्यालयका तर्फबाट प्रधानमन्त्री बालेन शाहकी प्रेस सल्लाहकार दीपा दाहालले नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याको अध्ययन तथा समाधानका लागि विशेष कार्यदल गठन गरिएको जानकारी दिएकी थिइन् । उक्त कार्यदललाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायसहित दुई साताभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

कार्यदलको संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवलाई बनाइएको छ । कार्यदलमा प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, परराष्ट्र, कृषि, वन तथा वातावरण मन्त्रालयका प्रतिनिधिसहित भन्सार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड तथा अन्य सम्बन्धित निकायका अधिकारीहरू सदस्यका रूपमा रहेका छन् ।

उद्योगीहरूले सरकारको यस कदमलाई सकारात्मक रूपमा लिँदै चिया क्षेत्र पुनः सञ्चालन गर्ने निर्णय गरेको बताएका छन्। संघका वरिष्ठ उपाध्यक्ष गुप्ताले चिया किसानका बगानमा हरियो पात बढ्दै गएको संवेदनशील अवस्था तथा मजदुरहरूको दैनिक जीविकामा परेको असरलाई ध्यानमा राख्दै उद्योग लामो समय बन्द राख्न उचित नहुने निष्कर्षमा पुगेको बताए। उनले सरकारको पहलप्रति सम्मान व्यक्त गर्दै उद्योग सञ्चालन र चिया क्षेत्र खुला गर्ने निर्णय गरिएको स्पष्ट पारे ।

चिया निर्यात अवरोधका कारण झापा, इलामसहित पूर्वी नेपालका ९९ वटा चिया उद्योग बन्द भएका थिए। उद्योग बन्द भएपछि साना तथा ठूला गरी एक सयभन्दा बढी चिया बगानमा पनि काम प्रभावित भएको थियो।

उद्योगीहरूले यसअघि प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष भेटका लागि प्रयास गरे पनि सफल हुन सकेका थिएनन्। यद्यपि प्रधानमन्त्री सचिवालयका सदस्यहरूसँग भएको छलफलमा भारतमा निर्यातमा समस्या कायम रहे अन्य सम्भावित बजार तथा विकल्पबारे सुझाव प्रस्तुत गर्न उद्योगीहरूलाई आग्रह गरिएको थियो।

सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन र भारतसँग हुने कूटनीतिक पहलले चिया निर्यातमा देखिएको समस्या समाधान हुने अपेक्षा उद्योगीहरूले गरेका छन्।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ९ : १६ बजे