१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

विश्व शेर्पा सम्मेलन काठमाडौंमा हुने


१ असार २०७४, बिहिबार  

0
Shares

काठमाडौं । पहिलो विश्व शेर्पा सम्मेलन आगामी अक्टोबर महिनाको ८ र ९ तारिखमा काठमाडौंमा हुने भएको छ । सम्मेलन नेपाल शेर्पा संघलगायत विश्वका विभिन्न मुलुकहरुमा स्थापना भएका शेर्पा संघ संस्था तथा किदुगहरुको संयुक्त आयोजनामा हुन लागेको हो ।

नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पाको संयोजकत्वमा गठित विश्व शेर्पा संघ तदर्थ समितिको ११ जुनमा बसेको बैठकले सम्मेलनको मिति तय गरेको हो । बैठकले कार्यक्रम आयोजनाको मिति तय गरेसँगै कार्यक्रम तयारीका लागि केही उपसमितिहरु पनि गठन गरेको छ । जसमा शेर्पा किदुग न्यूयोर्क अमेरिकाका पूर्व अध्यक्ष दावा जाङबु शेर्पाको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ ।

उक्त आर्थिक उपसमितिमा शेर्पा किदुग बेल्जियमका अध्यक्ष तथा शेर्पा संघ यूरोपका संरक्षक आङ दोर्जी शेर्पा (सोनाम) सह–संयोजक र विभिन्न देशबाट प्रतिनिधित्व गर्ने संस्थाका प्रतिनिधिहरु सदस्य रहेनछ । त्यसै गरी वरिष्ठ पत्रकार आङ छिरिङ शेर्पाको संयोजकत्वमा शेर्पा संचार संस्थाका प्रतिनिधिहरु र विभिन्न देशहरुमा क्रियाशील शेर्पा संचारकर्मी तथा पत्रकारहरु सबै सदस्य रहने गरी विश्व शेर्पा सम्मेलनको प्रचार समिति पनि गठन गरिएको छ भने कार्यक्रम नेपालमा आयोजना हुने भएकोले कार्यक्रम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी नेपाल शेर्पा संघलाई दिने निर्णय पनि बैठकले गरेको छ ।

लामो समयदेखि छलपलमा रहेको विश्व शेर्पा संघलाई सार्थक बनाउनका लागि नै विश्व शेर्पा सम्मेलन आयोजना गरिने भएको हो । संसारको जुनसुकै ठाँउमा रहेता पनि शेर्पाहरुको ऐतिहासिक पहिचानका मूल कुराहरु सबैको एकै हुने भएकोले त्यो मिलन विन्दुलाई आत्मसाथ गर्न विश्व शेर्पा संघको परिकल्पना भएको हो । यसका लागि करीब डेड बर्ष अगाडी नै नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पाको संयोजकत्वमा शेर्पा किदुग अमेरिकाका तात्कालिन महासचिव आङ जाङबु शेर्पा सदस्य सचिव र शेर्पा संघ संस्थाहरु स्थापना भएका सबै देशका शेर्पा संघ तथा किदुगका अध्यक्षहरु सदस्य रहने गरी विश्व शेर्पा संघ तदर्थ समिति गठन भएको थियो ।

अहिले विश्व शेर्पा संघ तदर्थ समितिमा नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पा संयोजक, शेर्पा संघ यूरोपका अध्यक्ष फुला शेर्पा सह–संयोजक, शेर्पा किदुग अमेरिकाका प्रवक्ता पेम्बा गेलु शेर्पा सदस्य सचिव र सबै देशका शेर्पा संघ संस्थाहरु शेर्पा किदुग अमेरिका, शेर्पा किुदग बेल्जियम, शेर्पा संघ बेलायत, शेर्पा सोसाईटी पोर्तुगल, शेर्पा किदुग जर्मन, शेर्पा किदुग क्यानाडा, शेर्पा किदुग युएई, शेर्पा संघ ईजरायल, शेर्पा किदुग मलेसिया, शेर्पा किदुग साईप्रस, शेर्पा संघ दक्षिण कोरिया, शेर्पा संघ जापान, शेर्पा किदुग हङकङ, शेर्पा किदुग अष्ट्रेलिया, डेन्जोङ शेर्पा संघ सिक्किम, शेर्पा किदुग बहराईन, शेर्पा किदुग कतार, स्वीस शेर्पा सोसाईटी, र शेर्पा किदुग रोमानियाका अध्यक्षहरु सदस्य रहेका छन ।

प्रकाशित मिति : १ असार २०७४, बिहिबार  ९ : ४१ बजे