नेपाल सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै धार्मिक तथा साम्प्रदायिक सहिष्णुता कायम राख्न र सामाजिक सद्भाव बिगार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबै पक्षसँग अपिल गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपाली समाजले सदियौंदेखि अवलम्बन गर्दै आएको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई कायम राख्न सबैले संयमता अपनाउनुपर्नेमा जोड दिइएको छ। साथै उत्तेजना फैलाउने, भ्रामक सूचना प्रचार गर्ने वा त्यस्ता सूचनाबाट प्रभावित हुने कार्य नगर्न सरकारको आग्रह छ।
विज्ञप्तिमा साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको पनि सरकारले जनाएको छ।
सरकारका अनुसार घटनाको सत्यतथ्य छानबिन गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपायसहित सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। उक्त समितिले आफ्नो काम सुरु गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता सहसचिव हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र दोषीमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
सरकारले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने स्पष्ट गर्दै शान्ति, सुव्यवस्था, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, सञ्चारमाध्यम तथा आम नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।









