नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पताल तोडफोड घटनामा संलग्नमाथि कारबाही नभएको भन्दै बुधबार पनि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।
संघले मंगलबार जारी गरेको विज्ञप्तिमा घटना भएको चार दिन बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा नल्याइएको, पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीले न्याय नपाएको तथा राज्य निकायले गम्भीरता नदेखाएको आरोप लगाएको छ। गत साउन ८ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो।
संघका अनुसार घटनापछि वार्ताका लागि गएका चिकित्सकहरूमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखबाट दुर्व्यवहार भएको आरोपसमेत लागेको छ। यस घटनाप्रति गम्भीर असन्तुष्टि जनाउँदै संघले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो।
नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा पूर्वअध्यक्ष, पूर्वमहासचिव, वरिष्ठ चिकित्सक, अस्पताल निर्देशक, विभिन्न विशेषज्ञ समाजका प्रतिनिधि तथा आवासीय चिकित्सकसहितको छलफल र केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिएको संघले जनाएको छ।
घोषित कार्यक्रमअनुसार बुधबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द रहनेछन्। काठमाडौं उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मी बिहान १० बजे माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गर्नेछन्। उपत्यकाबाहिर भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा आफू कार्यरत स्वास्थ्य संस्थामा धर्ना दिने कार्यक्रम तय गरिएको छ।
यसअघि मंगलबार पनि संघले देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरी विरोध जनाएको थियो। संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि राज्यकै संरक्षणमा दमन भएको आरोप लगाउँदै दोषीमाथि अविलम्ब कानुनी कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा घटनामा संलग्न सबैलाई जिम्मेवार बनाउन माग गरेको छ।
आन्दोलनका कारण सर्वसाधारण बिरामीलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै संघले यसको सम्पूर्ण जिम्मेवारी सरकारको निष्क्रियताले निम्त्याएको जनाएको छ। संघले माग सम्बोधन नभएसम्म आन्दोलनका थप कार्यक्रम घोषणा गर्न सकिने चेतावनीसमेत दिएको छ।








