नुवाकोट । “विनाशको बाटो रोज्ने कि समृद्धिको बाटो रोज्ने त्यो तपाईहरुमा भरपर्ने कुरा हो ।” सन्दर्भ मंगलबार ककनी गाउँपालिका (गापा) रानीपौवामा आयोजित चुनावी आमसभाको सम्बोधन गर्दै प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार डा. रामशरण महतले सो कुरा बताएका हुन् ।
सभामा डा. महतले मुलुकको विकासमा कांग्रेस घामजस्तै छर्लङ्ग भएको र कम्युनिष्टले जहिले पनि आश्वासन मात्रै बाँडिरहेको बताए ।
कार्यक्रममा विशेष अतिथि युवा तथा खेलकुद मन्त्री राजन केसीले अब लोकतान्त्रिक नेतृत्वको मुलुक अगाडि बढ्ने जिकिर गरे ।
यसैगरी सभामा प्रदेशसभा उम्मेदवार रमेशकुमार महतले पराजित मानसिकता बोकेर वाम गठबन्धनले मतदाता र नेका कार्यकर्ताहरुलाई धम्क्याउने गरिरहेको हुँदा कोही पनि विचलित नभई मतदानमा सरिक हुन आग्रह गरे ।
प्रदेश समानुपातिक उम्मेदवार कृष्णबहादुर लामाले सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस भने जस्तै समावेशीताको अवधारणा विगतदेखि कार्यान्वयन भएकोले सबै एक ढिक्का भएर निर्वाचनमा होमिनुपर्ने बताए ।
कार्यक्रममा प्रदेश समानुपातिक उम्मेदवार सिता मिजारले महिलालाई लोकतान्त्रिक अधिकारमुखी बनाउने कांग्रेस भएको बताइन् ।
गापा संयोजक सुपोल (अशोक) लामाको सभाध्यक्षतामा सम्पन्न सभामा जिसस संयोजक सन्तमान तामाङ, पूर्व महासमिति सदस्यद्धय पदमराज पौडेल र भाग्यश्री लामा, राप्रपा प्रजातान्त्रिकका समानुपातिक उम्मेदवारद्धय सुरोज घले र अष्टमाया लामा, जिल्ला अध्यक्ष नरेन्द्रप्रसाद फुयाँल, गापा प्रत्यासी उम्मेदवार दिपेश लामा, नेका जिल्ला सदस्य विष्णुबहादुर गुरुङ, क्षेत्रीय अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, राप्रपा नेपालका भरतराज पाठक लगायतले मन्तब्य राखेका थिए ।
सोही क्रममा कलाकारहरुले आ–आफ्नो बेजोड प्रस्तुति पस्केका थिए । कलाकारहरुमा नेपाल सांस्कृतिक संघका केन्द्रीय कोषाध्यक्ष राधिका हमाल, संघकै केन्द्रीय पार्षद मदन थापा, संघकै जिल्ला अध्यक्ष सानु केसी, सविता परियार, सुवास पाख्रिन, सुमन ग्लान, प्रनीता कार्की लगायत रहेका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला आयोजक कमिटी सदस्य एवं पासाङल्हामु बस सेवा समितिका उपाध्यक्ष मंगल लामा, चित्रबहादुर लामा, नवराज लामिछाने सहित दर्जनौंले विभिन्न पार्टी त्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।