७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ओलीले पत्रकारको टोलीलाई भने: तपाईहरुको कुरो अलि सेन्टिमेन्टल खालको रहेछ


१७ माघ २०७४, बुधबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं

बुधबार सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा बाल सञ्चार केन्द्र तथा बालमैत्री नेपालले बालमैत्री अभियानलाई स्थानीय सरकारमा कार्यान्वयन गर्न गराउन अनुरोध गर्दै एमाले अध्यक्ष केपी ओलीलाई दश बुँदे ज्ञापनपत्र पेश गरे ।

लगातै अध्यक्ष ओलीले यी कुरा सेन्टिमेन्टल रहेको भन्दै आफू एक पाइला अगाडि रहेको दाबी गरे । उनले भने, ‘तपाईहरुको कुरो अलि सेन्टिमेन्टल खालको रहेछ । तपाईहरुले बालमैत्री भन्नुभो । तर म अलि एक स्टेप अगाडि छु ।’

ओलीले देशको योजनाहरु, नीतिहरु, कार्यक्रमहरु व्यवहारमा भोलिका लागि अझ सुरक्षित वातावरण, अझ सुरक्षित र सहज जीवन त्यसका निम्ति कामहरु गर्नुपर्छ बताए । ‘हरेक बालबालिकाले खान, लाउन,बाच्न पाउने त्यो अधिकार हो । सिद्धान्त हैन, खान, लाउन पाउनै पर्छ बालबालिकाले र मैले भन्दै नै आइरहेको छु नेपाली जनता कोहो भोकै मर्दैन कोही भोकै पर्दैन,’ उनले भने ।

बालबालिकाले खान, लाउन पाउने अधिकार भनेको जन्मसिद्ध अधिकार भएको उल्लेख गर्दै गर्भवस्थादेखि ल्याएर शिशुवस्था र बाल्यवस्थासम्म उसले स्वास्थ्य तथा हेरबिचार पाउनुपर्ने बताए ।

बालबालिकाले बाल सुलभ वातावरणमा खेल्न पाउनुपर्ने र रमाउन पाउनुपर्ने बताउँदै ओलीले त्यससँगै शिक्षाको अवसर पाउनुपर्ने सुझाव दिए । ओलीले भने, ‘बालबालिकालाई नराम्रो व्यवहार गर्ने, उनीहरुलाई त्रसित बनाउने, यातना, तनाव, दवाव वा त्रास महसुस गर्ने परिस्थिति सृजना गरि दिनु हुदैन । बालबालिका लाई गलत कुरा सिकाउने, गलत बाटो देखाउनेलाई दण्ड दिनुपर्छ ।’

भेटमा ओलीले बालबालिकाको विषादीमुक्त खानेकुरा खुवाउनुपर्ने सुझावसमेत दिए । केन्द्रका अध्यक्ष रविराज बसौलाको नेतृत्वमा पुगेको टोलीलाई बालबालिकाको क्षेत्रमा आगामी सरकारले ध्यान दिने उल्लेख गर्दै भने, ‘हामी राम्रो समयमा प्रवेश गर्दैछौं, ढुक्क भए हुन्छ ।’

ओलीले सञ्चारकर्मीको प्रशंसा गर्दै भने, ‘सबैले आफ्नै छोराछोरीको मात्र ख्याल गर्छन् अरुका लागि सोच्दैनन् तर तपाईहरुले त दुनियाँका छोराछारीहरु ख्याल गर्नु भएकोमा सबैलाई धन्यवाद ।’

भेटमा केन्द्रका सल्लाहकार शुभराज पोखरेल, उपाध्यक्ष यशोदा अधिकारी, कोषाध्यक्ष कलिका खड्कालगायत सहभागी थिए ।

प्रकाशित मिति : १७ माघ २०७४, बुधबार  ७ : ३६ बजे