२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

भारत भ्रमणले दिएको सन्देश: ओलीको अडानसामु भारत नतमस्तक


४ बैशाख २०७५, मंगलबार  

0
Shares

बीके नेवा

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तीन दिवसीय भारत भ्रमण(चैत २३—२५) विवादरहित ढङ्गले सम्पन्न भएको छ । यो भ्रमणले नेपाल—भारत सम्बन्धलाई नयाँ उचाईंमा पुर्याएको दावी गरिएको छ । ५४ सदस्यीय प्रतिनिधिमण्डलसहितको भारत भ्रमणमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र आपसी चासोका विषयमा अडानकासाथ महत्वपूर्ण वार्ताको साथै १२ बुँदे सहमति गर्नुभयो । दुवै देशका प्रधानमन्त्रीले खुलेर एक अर्काको प्रशंसा गर्नुभयो । भारतले नेपाललाई गर्ने सहयोग साथै यसअघि भएका विभिन्न सन्धि, सम्झौता र सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको ध्यानाकर्षण गराउनुभयो । नेपालको विकासप्रति भारत सकारात्मक छ भन्ने सन्देश दिन मोदीले चाहनुभयो । भारतको उन्नति र प्रगतिमा नेपाल पनि साझेदार बन्न चाहेको ओलीले बताउनुभयो ।

 

लेखक

प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच रहेका असमझदारी तथा तिक्तता हटाउन प्रयास गर्नुभयो भने भारतीय प्रधानमन्त्री मोदीले ओली प्रभावशाली नेता भएको भन्दै नेपालको समृद्धि र खुशीमा साथ दिने बताउनुभयो । उहाँले नेपालको हरेक विकासमा भारतको सहयोग र समर्थन रहने भन्दै नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिनुभयो । नेपालमा तीनै तहका निर्वाचन सम्पन्न भई सङ्क्रमणकालको अन्त्य भई ऐतिहासिक उपलब्धि हासिल गरेको र अब नयाँ युगमा प्रवेश गरेको सन्दर्भमा भारतीय सहयोग र समर्थनको विशिष्टखाले महत्व रहेको कुरा पनि औँल्याइएको छ ।

नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक ढङ्गले अगाडि बढेको छ । २०७२ सालको जस्तो कटुतापूर्ण अवस्था अहिले छैन । नेपालको संविधानलाई स्वीकार गर्न नसकी पाँच महिना नेपालविरुद्ध नाकाबन्दी गरेको भारतलाई अहिले पछुतो छ । नाकाबन्दीपछि २०७२ साल फागुन ७ देखि १२ गतेसम्म भारतको भ्रमण गर्नुभएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नाकाबन्दीसामु झुक्नुभएन । नाकाबन्दीको विकल्पमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउने बाटो खुलाउनुभयो । यस कदमले ओलीको लोकप्रियता बढ्यो । नाकाबन्दीविरुद्ध खुलेर लाग्नु भएका ओलीलाई आम नेपाली जनताले साथ दिए । जसले गर्दा सम्पन्न तीनवटै चुनावमा एमाले संसद्को ठूलो पार्टी बन्न सफल भयो । नाकाबन्दीविरुद्ध एक शब्द बोल्न नचाहेको नेपाली काँग्रेस सोही कारणले नै चुनावमा पराजित भयो । भारतसँग अडान राख्ने ओलीको लोकप्रियता बढेको छ । यस पटकको भ्रमणमा पनि नेपालको शिर झुकाउने कुनै पनि सन्धिसम्झौता नगरेका ओलीले स्वतन्त्र राष्ट्रको हिसाबले नेपालसँग व्यवहार गर्न भारतीय नेतृत्वलाई सचेत गराउनुभयो ।

ओलीसँग यस पटक भारतको ७२ साल जस्तो कटुता रहेन । सो कटुता बिर्साउन भारतीय नेतृत्वले यस पटकको भ्रमणमा जलमार्ग र रेलमार्गले नेपाललाई जोड्ने प्रतिबद्धता जनाएको छ । नेपालसँग यसअघि भएका सन्धि सम्झौता कार्यान्वयन कार्यान्वयनलाई नेपालले जोड दिएको छ । नेपालको अलिकति हितमा रहेको महाकाली सन्धि, पञ्चेश्वर परियोजना,कोशीउच्च बाँध,अरुण तेस्रो आयोजनामा चासो देखाएजस्तो गरे पनि कार्यान्वयनमा जान हिचकिचाइरहेको छ । यी ठूला परियोजना कार्यान्वयन गरेको खण्डमा नेपाल र भारत दुवैलाई फाइदा हुन्छ । तर कोशी र गण्डकी सम्झौतामाजस्तो एकलौटी फाइदा भारतलाई नहुने भएकाले गर्दा नै यी आयोजनाको कार्यान्वयनमा ढिलाइ भएको छ । महाकाली सन्धि भएको २२ वर्ष भइसकेको छ । ६ महिनामा डीपीआर बनाउने भनेको अहिलेसम्म बनेको छैन ।
यस पटकको भारत भ्रमणमा ओलीले ठूला आयोजना कार्यान्वयनका लागि मोदीको ध्यानाकर्षण गराउनुभयो । मोदीले ठूला आयोजनाको छिटो कार्यान्वयन गर्ने वचन दिनुभयो । रक्सौलदेखि काठमाडौँसम्म विद्युतीय रेलमार्ग बनाउने सहमति भएको छ । पूर्व—पश्चिम रेलमार्गको कामलाई तिव्र बनाउने विषयमा पनि खुलेर कुरा भएको छ । भारतले नेपाललाई अल्झाएर राख्ने, आयोजनाहरु समयमा पूरा नहुने गरेको पृष्ठभूमिमा नयाँ अहिले नयाँ सन्धि सम्झौता नगरी पुराना सन्धिसम्झौता कार्यान्यवनमा ओलीले जोड दिएर भारतमाथि दबाब सिर्जना गर्न सफल हुनुभएको छ ।

ओलीको राष्ट्रवादी अडानले यस पटक भारतसँग नयाँ सन्धिसम्झौता भएनन् । पुराना सन्धिसम्झौता कार्यान्वयन नभएसम्म नयाँ सन्धिसम्झौता नगर्ने ओलीको अडानसामु भारत नतमस्तक भएको छ । आशा गरौँ भारतले अब नेपालसँग विगतमा भएका सन्धिसम्झौता कार्यान्यनमा जोड दिनेछ ।

नेपालका लागि भारतमात्र विकल्प रहेन । भारतले हेपाह प्रवृत्ति देखाएमा उत्तरी छिमेकी चीनसँगको विकल्प खुला गरेको ओलीलाई अब रोक्न सकिँदैन भन्ने कुरा भारतीय नेतृत्वले बुझेको हुनुपर्छ । दुईतिहाईभन्दा बढीको विश्वासको मत पाएको ओली सरकारले अब पारस्परिक हितको आधारमा भारत र चीनसित सम्बन्ध विस्तार गरी नेपालको आर्थिक विकास र समृद्धिको ढोका खोल्नुपर्छ भन्ने आम नेपालीको माग रहेको छ ।
कसैसँग हेपिएर र दबिएर बस्नुपर्ने अवस्था अब छैन । दुई आर्थिक शक्तिका रुपमा रहेका भारत र चीन दुवैतिरबाट फाइदा दिई सन्तुलित सम्बन्ध विस्तार गरी नेपालको हितमा काम गर्नु अहिलको आवश्यकता हो ।

नेपालसँग अब राजनीतिक एजेन्डा छैन । आर्थिक विकास र समृद्धि अबको मूल मन्त्र हो । नेपालले अब तिव्र गतिमा आर्थिक विकास गरी विकासोन्मुख मुलुकबाट विकासशील मुलुकमा रुपान्तरण हुनुपर्छ । यसका लागि समग्र ध्यान आर्थिक विकासमा केन्द्रित हुनुपर्छ । आर्थिक विकासले मात्र अब नेपाललाई अगाडि बढाउन र विकासशील राष्ट्र बनाउन सकिन्छ । आम नेपाली जनता सबैको चाहना भारत र चीनसित मिलेर,सन्तुलित सम्बन्ध कायम गरी तिव्र आर्थिक विकास गर्नु रहेको छ । ओली सरकारले अब सम्पूर्ण ध्यान आर्थिक विकासमै केन्द्रित गर्नुपर्छ । भारतले अब नेपाललाई पुरानो मानसिकताले व्यवहार गर्न र हेर्न हुँदैन ।

प्रकाशित मिति : ४ बैशाख २०७५, मंगलबार  ८ : ०४ बजे