२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

विश्वकर्माको उपन्यास ‘पाताल’माथि अमेरिकामा चर्चा



कृष्णराज खनाल
राले, अमेरिका । साहित्यकार पदम विश्वकर्माको दुई वर्षअघि प्रकाशित उपन्यास पातालमाथि शनिबार साँझ अमेरिकाको नर्थ क्यारोलाइनामा चर्चा गरिएको छ।

नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले प्रत्येक महिना आयोजना गर्ने ‘मासिक घरदैलो’ कार्यक्रमअन्तर्गत यसपटक करिब दुई दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका विश्वकर्माको उपन्यास पातालमाथि विमर्श गरिएको हो। विश्वकर्माका यसअघि शब्द सुमन (कविता सङ्ग्रह), क्वारेन्टाइनतमसुक गरी तीन कृति प्रकाशित भइसकेका छन्।

समाजद्वारा आयोजित कार्यक्रममा समाजका सल्लाहकार ईश्वर देवकोटाले पाताल उपन्यासमा माओवादी जनयुद्धले दिएको पीडाको छायाँ ग्रामीण भेगदेखि सहरसम्म परेको उल्लेख गरे । उनले युद्धका कारण विस्थापित ‘कर्म’ नामक पात्रको कथा उपन्यासको मुख्य आधार भएको बताउँदै, उक्त पात्र अमेरिका पुगेपछि पनि पीडाबाट मुक्त हुन नसकी अन्ततः नेपाल फर्किने सुखान्त कथावस्तु समेटिएको स्पष्ट पारे ।

कार्यक्रममा साहित्यकार नीलम कार्की निहारिका, डा. चन्द्र गिरी, डा. ऋषि वस्ताकोटी, डा. शरद पराशर मरहठ्ठा, उमा शर्मा, शिव पलाँस र पेशल पोखरेललगायत वक्ताहरूले पाताल उपन्यासका विविध पक्षमाथि चर्चा गरेका थिए। वक्ताहरूले उपन्यासले नेपाली आप्रवासी मात्र होइन, समग्र आप्रवासी जीवनको यथार्थ चित्रण गरेको धारणा राख्दै यसका सबल पक्षका साथै केही कमजोरीहरू पनि औँल्याएका थिए।

समाजका अध्यक्ष शिखर दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव मनोज प्रधानले पनि उपन्यासमाथि आफ्नो धारणा राखेका थिए।

उपन्यासकार पदम विश्वकर्माले कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्राप्त सुझाव र आलोचनालाई आगामी सिर्जनामा सुधार गर्ने प्रतिबद्धता जनाए। साथै उनले नर्थ क्यारोलाइना नेपाली साहित्य समाज अमेरिकामा सक्रिय रूपमा साहित्यिक कार्यक्रम आयोजना गर्ने संस्थामध्ये एक रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ९ : २७ बजे