भारतको तमिलनाडु राजनीतिमा यसपटक ऐतिहासिक परिवर्तनको संकेत देखिएको छ । दशकौँदेखि द्रमुक र अन्नाद्रमुकबीच आलोपालो सत्तामा चल्दै आएको परम्परागत समीकरणलाई चुनौती दिँदै अभिनेता सी. जोसेफ विजय नेतृत्वको तमिलग वेत्री कझगम तीव्र रूपमा उदाएको छ । पछिल्ला चुनावी रुझानले विजय नै आगामी मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखाएका छन् ।
सन् २०२४ मा स्थापना भई छोटो समयमै जनसमर्थन विस्तार गरेको टिभीकेले राज्यको राजनीतिमा नयाँ शक्ति र वैकल्पिक नेतृत्वको सन्देश दिएको विश्लेषकहरू बताउँछन् । दशकौँदेखि स्थापित दलहरूको वर्चस्व तोड्ने यो नतिजालाई ऐतिहासिक मोडका रूपमा हेरिएको छ ।
विजयको चुनावी अभियान आधुनिक प्रविधिको प्रयोगका कारण विशेष चर्चामा रह्यो । उनले ‘होलोग्राम’ प्रविधिमार्फत गाउँगाउँमा आफ्नो उपस्थिती जनाउँदै मतदातासँग संवाद गरे । यो प्रविधि पहिले नरेन्द्र मोदीले प्रयोगमा ल्याएका थिए ।
त्यसैगरी, ‘ह्विसल’ चिन्हलाई लोकप्रिय बनाउन ‘ह्विसल पोडु’ गीत, सामाजिक सञ्जाल र रचनात्मक प्रचार शैलीले युवामाझ ठूलो प्रभाव पार्यो । सेतो सर्ट र खाकी पाइन्टमा देखिने उनको शैली समर्थकहरूको पहिचान बनेको छ ।
तीन दशक लामो फिल्म करियरपछि विजयले अभिनय त्यागेर पूर्णकालीन राजनीतिमा प्रवेश गरेका हुन् । उनका फिल्महरूमा सामाजिक मुद्दा उठाउने शैलीले उनलाई ‘जननायक’को छवि दिएको विश्लेषण छ ।
उनको फिल्म जननायक प्रदर्शनमा अवरोध आए पनि त्यसको सन्देश र संवादले जनतामा प्रभाव पार्न सफल भएको देखिन्छ ।
विजयको सफलता एक दशक लामो संगठनात्मक तयारीको परिणाम मानिन्छ । सन् २००९ मा स्थापना गरिएको ‘विजय मक्कल इयक्कम’ फ्यान क्लबलाई सामाजिक तथा राजनीतिक संरचनामा रूपान्तरण गर्दै उनले बलियो आधार तयार पारे ।
चुनावी रणनीतिमा प्रख्यात रणनीतिकार प्रशान्त किशोरको भूमिका पनि महत्वपूर्ण रहेको बताइएको छ ।
राजनीतिक यात्रामा विजयले चुनौती पनि सामना गरेका छन् । सन् २०२५ मा करुर जिल्लामा भएको भागदौडमा ४१ जनाको मृत्यु भएपछि उनी आलोचनामा परेका थिए । घटनापछि केन्द्रीय अनुसन्धान ब्यूरोले छानबिन गरेको थियो ।
तमिलनाडुमा यसपटक ८५ प्रतिशतभन्दा बढी मतदान भएको थियो, जसमा युवा मतदाताको उल्लेख्य सहभागिता देखिएको छ । टिभीके बहुमतको नजिक पुगेको र सरकार गठनको सम्भावना बलियो भएको प्रारम्भिक संकेतहरू छन् ।
विश्लेषकहरूका अनुसार यो परिणामले सन् १९६७ मा सी. एन. अन्नादुरई र १९७७ मा एम. जी. रामचन्द्रनले ल्याएको परिवर्तनको झल्को दिएको छ ।
तमिलनाडुका मतदाताले परम्परागत दलहरूभन्दा बाहिरको नयाँ नेतृत्व रोज्ने संकेत दिँदै विजयलाई आशाको केन्द्रका रूपमा उभ्याएका छन्। अब उनको नेतृत्वले राज्यको शासनमा कस्तो परिवर्तन ल्याउँछ भन्ने चासो व्यापक रूपमा बढेको छ ।









