२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

को हुन् कुख्यात लागु औषध तस्कार ‘एल मेन्चो’



मेक्सिकोका कुख्यात लागूऔषध तस्कर नेमेसियो ओसेगुएरा सर्भन्टेज उर्फ ‘एल मेन्चो’ नामले चिनिन्थ्यो, आइतबार मेक्सिकन सेनाको अपरेसनमा मारिएका छन् ।

उनी जलिस्को न्यू जेनेरेशन कर्टेलका संस्थापक तथा प्रमुख थिए । उनको मृत्यु पश्चिमी राज्य जालिस्कोको टापाल्पामा गरिएको सैन्य कारबाहीका क्रममा भएको जनाइएको छ । घटनापछि देशका विभिन्न क्षेत्रमा अशान्ति र हिंसात्मक गतिविधि बढेको छ ।

सन् १९६६ जुलाईमा मिचोआकान राज्यमा जन्मिएका ओसेगुएरा युवावस्थामा अमेरिका गएका थिए र १९९० को दशकदेखि लागूऔषध कारोबारमा संलग्न भएको अमेरिकी लागूऔषध नियन्त्रण प्रशासनले जनाएको छ ।

सन् १९९४ मा क्यालिफोर्नियामा हेरोइन विक्री गरेकोमा दोषी ठहर भई उनले तीन वर्ष जेल सजाय भोगेका थिए । मेक्सिको फर्किएपछि केही समय प्रहरीका रूपमा काम गरे पनि पुनः आपराधिक गतिविधिमा संलग्न हुँदै शक्तिशाली कार्टेल सञ्जाल निर्माण गरेका थिए ।

ओसेगुएरा अमेरिकाको ‘मोस्ट वान्टेड’ सूचीमा थिए र उनलाई पक्राउ गराउन अमेरिकाले १५ मिलियन डलर पुरस्कार घोषणा गरेको थियो । साइनलोहा कार्टेलका पूर्व प्रमुख जोआक्विन “एल चापो” गुज्मान पक्राउ परेपछि ओसेगुएरालाई मेक्सिकोको सबैभन्दा शक्तिशाली कार्टेल प्रमुख मानिन्थ्यो ।

उनले मिलेनियो कार्टेलबाट अलग्गिएको समूहलाई संगठित गर्दै २०१० को दशकमा नयाँ कर्टेल स्थापना गरेका थिए । यो समूहले विश्वव्यापी रूपमा लागूऔषध तस्करी सञ्जाल विस्तार गर्दै फेन्टानिल, मेथाम्फेटामिन र कोकिन उत्पादन तथा आपूर्ति गर्दै आएको अमेरिकी अधिकारीहरूको आरोप छ ।

उनले कार्टेललाई सन् २०२५ फेब्रुअरीमा अमेरिकाले आतंकवादी संगठनको सूचीमा राखेको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुसार यो समूह मेक्सिकोभरि हिंसात्मक आक्रमण, सरकारी अधिकारीमाथि हत्या प्रयास तथा सुरक्षा निकायमाथि आक्रमणमा संलग्न रहँदै आएको छ । सन् २०१५ मा सुरक्षा कारबाहीको प्रतिकारस्वरूप कार्टेलले विभिन्न नगरपालिकामा सडक अवरोध खडा गर्नुका साथै सैन्य हेलिकोप्टर खसाल्दा तीन सैनिक मारिएका थिए ।

ओसेगुएराको नेतृत्वमा रहेको कार्टेलले चीनबाट रासायनिक पदार्थ आपूर्ति गर्ने सञ्जाल र विभिन्न समुद्री बन्दरगाह नियन्त्रणमार्फत ठूलो परिमाणमा फेन्टानिल उत्पादन गरी अमेरिकातर्फ तस्करी गरेको आरोप छ। अमेरिकी अधिकारीहरुका अनुसार यो समूह अमेरिकामा अवैध फेन्टानिलको प्रमुख आपूर्तिकर्ता हो र अर्बौं डलर नाफा कमाउँदै आएको छ । संगठनको सञ्जाल अमेरिका, अष्ट्रेलिया, चीन र दक्षिणपूर्वी एसियासहित ४० भन्दा बढी देशमा फैलिएको बताइएको छ ।

ओसेगुएराको मृत्युले कार्टेलको संरचनामा तत्काल प्रभाव पार्ने अनुमान गरिए पनि विज्ञहरूका अनुसार ‘फ्रान्चाइज’ मोडेलमा आधारित रहेकाले गतिविधि पूर्ण रूपमा रोकिने सम्भावना कम छ । विगतमा पनि मेक्सिकन सेना र प्रहरी, अमेरिकी सहयोगमा, विभिन्न कार्टेल प्रमुखलाई पक्राउ वा मार्न सफल भए पनि उनीहरूको स्थानमा नयाँ नेतृत्व उदाउँदै आएको इतिहास छ ।

ओसेगुएराको मृत्युले मेक्सिकोमा लागूऔषध विरुद्धको लडाइँमा नयाँ अध्याय सुरु गरेको छ । तर बहु-अर्ब डलरको अवैध व्यापार, सशक्त अन्तर्राष्ट्रिय सञ्जाल र विखण्डित संरचनाका कारणका कारण प्रभाव तत्काल अन्त्य हुने संकेत देखिएको छैन ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ११ : २८ बजे