१० असार २०८३, बुधबार | Wed Jun 24 2026

टियु टपर गाउँपालिका अध्यक्ष, विकासमा आफ्नो गाउँपालिकालाई ‘नेपाल टप’ बनाउने अभियानमा


१३ श्रावण २०७५, आइतबार  

20
Shares

रत्नराज्य क्याम्पस, प्रदर्शनीमार्गमा २०५६ बाट नेपाल विद्यार्थी संघका इकाई सभापति थिए भुपेन्द्र राई । अनेरस्ववियुको दबदबा रहेको क्याम्पसमा नेविसंघले साधारण सदस्यतासमेत बाँड्न नसकिरहेको अवस्थामा उनी इकाई सभापति भए । संगठनलाई बलियो बनाउँदै उनी दुईपटक स्ववियु सभापतिका उम्मेदवारसमेत भए ।

रत्नराज्यमै दुई कार्यकाल इकाई सभापति भएका राई चितवनमा भएको नेविसंघको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । राजनीतिसँगै पढाईलाईसमेत निरन्तरता दिएका राई इतिहास विषयमा एमए गरे । २०६३ मा उनले यस विषयमा त्रिभुवन विश्वविद्यालबाट पहिलो हुँदै एमए उतीर्ण गरेका थिए ।

विसं २०३५ असार १५ गते खोटाङको याम्खा गाविसमा जन्मिएका राईले पढाईलाई यही थाँती राखेर जिल्ला फर्के । जिल्लामा नेपाली कांग्रेसबाट राजनीति शुरु गरे । जिल्ला कार्यसमितिका सदस्य र जिल्ला संगठन विभागको प्रमुख भएर काम राजनीतिक काम शुरु भयो । त्यसो त उनी गाउँकै महेन्द्रोदय माविमा इकाई अध्यक्ष भइसकेका थिए । जिल्लामा राजनीतिक सक्रियताकै कारण उनी अहिले महाधिवेशन प्रतिनिधि भएका छन् ।

जनताको काममा लागी पर्ने भएकै कारण ‘लालगढ’ मानिने दिप्रुङ चुईचुम्म गाउँपालिकाका अध्यक्षसमेत निर्वाचित भए उनी । दिप्रुङ चुईचुम्म गाउँपालिका सात गाविस मिलेर बनेको हो । अघिल्ला स्थानीय निर्वाचनमा सातै गाविसमा तत्कालीन नेकपा एमालेको उम्मेदवार निर्वाचित भएका थिए । यसपटक उक्त लालगढमा उनले एमालेका उम्मेदवारलाई १,१९२ मतान्ततरमा पराजित गरे । सातमध्ये ४ वडामा कांग्रेसले जित्यो । गाउँपालिकाको कार्यपालिकामा उनलाई बहुमत प्राप्त छ ।

अध्यक्षमा निर्वाचित भएको एक वर्ष पुरा भइसकेको छ । यही अवसरमा उनै खोटाङ दिप्रुङ चुईचुम्म गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः

तपाई पढाईमा ‘टियु टपर’, राजधानी छाडेर गाउँको राजनीतिमा लाग्दा पछुतो लाग्दैन ?
म गाउँदेखि नै राजनीतिमा लागेको । जागिर खान र प्रोफेसर बन्न पढेको थिएनँ । युनिभर्सिटी टप गरे पनि मलाई समाजको सेवाको भोक थियो । राजनीतिमा लागेकालाई गाली गर्नेहरु धेरै छन् । राजनीति सुधारका लागि पढेका मान्छे यो क्षेत्रमा लाग्नुपर्छ । राजनीति विशुद्ध समाजसेवा हो । गाउँ विकासका लागि पढेका र देश बुझेका मानिस आवश्यक छ ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित भईहाल्नु भयो, त्यसैले आत्मविश्वास बढ्यो ?
म यही एक कार्यकाल जितेर समाजसेवा गर्न राजनीतिमा लागेको हैन । मैले अझै पनि राजनीति गर्नुछ । समाजका लागि देशका लागि अझै काम गर्नु छ । पारदर्शी तरिकाले सेवा गर्नुछ । जनताको सेवा गर्न आएको हुँ, म शासन गर्न आएको हैन । त्यसैले वामपन्थीहरुको कब्जामा रहेको यो गाउँका जनताले मेरो साहसलाई पत्याउनुभयो र मलाई चुनेर पठाउनुभयो । जनताको आडभरोसा नै सबैथोक हो ।

गाउँपालिकाका वडामा इन्टरनेट जडान गरिँदै

निर्वाचित भएको त वर्षदिन नाघिसक्यो, घोषणापत्र कतिको सम्झनु हुन्छ ?
घोषणापत्रअनुसार नै काम हुँदैछ । अझ बढी काम गर्नेछु । सबैभन्दा पहिलो भनेको सडक हो । सातै वडामा बाटोको ट्रयाक खोलिएका छन् । बाह्रैमास बाटो सुचारु बनाउन ग्राभेल हुँदैछ । सबैबाटोमा नालीको व्यवस्थापन । बर्खामा पनि गाडी गुड्न थालेको छ रोकेको छैन । हाम्रो समस्या अहिले खोलामा पुल छैन । साप्सु खोलाको पुलको डिपिआर भएको छ । टेन्डर भइसकेको छ ।

वडा नम्बर ४ मा विद्युत पुगेको छैन । यसपटक बाल्छौ भनेर लागीरहेको छ । सञ्चारमा, सात वटै वडा कार्यालयमा इन्टरनेट पुगेको छ । सातै वडामा नमुना विद्यालय पुग्दैछ । कम्प्युटर पढाई शुरु भइसकेको छ ।

पर्यटनको लागि प्याराग्लाईडिङ परीक्षण उडान गरेका छौ । व्यवसायिकरण गर्न लाग्दैछौ । दिप्लुङ छाँगा यहाँको आकर्षण हो । १७६ फिट अग्लो छ । यसको प्रचार र पर्यटनका लागि गएको वर्ष र यस वर्ष गरी ४५ लाख छुटाएको छौ ।

उद्योगमा, प्लाइउड उद्योग खोल्ने तयारीमा लागिसकेका छौ । फलफूल प्रशोधन केन्द्र स्थापना हुने भएको छ । कृषिको उर्बर भूमि हो हाम्रो गाउँपालिका । कृषि संकलन केन्द्र बनिसकेको छ । एक मुठा साग पनि बेच्न पाउँछन् किसानले । बजारका लागि गाउँपालिकाले व्यवस्था मिलाएका छौ ।

स्वास्थ्यमा सातै वडामा बर्थिङ सेन्टर सञ्चालन गर्ने तयारी छ । ६५ वर्षमाथिकालाई गाउँपालिकाभरी यातायात सुविधा निशुल्क व्यवस्था गरेका छौ । ७० वर्षमाथिकालाई घरमै स्वास्थ्य सेवा गरेका छौ । महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिन शुरु गरिएको छ ।

अहिले करको दर बढेको छ, शिशु जन्मिदाँ दिइने पैसाभन्दा बढी जन्मदर्तामा असुल्ने गरेका छन्, दिप्रुङ चुईचुम्मको अवस्था पनि त्यस्तै हो ?
कर हाम्रै लागि हो । गाउँपालिकाकै विकासकै लागि हो । हाम्रो गाउँपालिकामा कर अत्यन्त्यै कम उठ्छ । हामी उठाएको कर स्पष्टसँग जनतालाई देखाउँदै ती करबाट के के काम हुँदैछ भनी देखाउँछ ।

अर्को कुरा शिशुको जन्मदर्ताका लागि हामी एकसय रुपैयाँ मात्र लिन्छौ । बरु यस्ता शिशुलाई स्वस्थ राख्न हाम्रो गाउँपालिकाले प्रतिमहिना एकहजार रुपैयाँ उपलब्ध गराउने भएको छ । अबको गाउँपालिका स्वस्थ गाउँपालिका हाम्रो अभियान हो । यसका लागि गर्भवती महिलाले चारपटक स्वास्थ्य परीक्षण गरेको हुनुपर्छ र जन्मदर्ता गरेको हुनुपर्छ । बच्चाको नियमित स्वास्थ्य परीक्षण गरेको हुनैपर्छ । बच्चालाई दुई वर्षसम्म प्रति महिना एक हजारका दरले एउटै बाआमाका दुई जना बच्चालाई प्रदान गरिने भएको छ । । यो आर्थिक वर्षको साउनदेखि जन्मेको शिशुलाई शिशु पोषण प्रवद्र्धन कार्यक्रमअन्तर्गत यो प्रदान गरिनेछ ।

भनेपछि सिंहदरबार गाउँ पुग्यो ?
सिंहदरबार हैन समाजको काम गर्ने अफिस पुगेको छ । सिंहदरबारले त जनताको सेवा गरेकै रहेनछ । सिंहदरबारको शासक पुग्यो भने त्यो गलत हुन्छ । अहिलेसम्म सिंहदरबार भएकै कारणले जनताले सेवा नपाएका रहेछन् । सिंहदरबारमा त शासकले अधिकार पाउने जनताले नपाउने रहेछ ।

अन्त्यमा गाउँपालिकाको नाम कसरी फेरियो, त्यो पनि बताइदिनुस न ।
चुईचुम्म र दिप्रुङ किराती थुम हुन् । चुई चुम्म भनेको थुम थुम रहेछ । दिप्रुङ पनि किराती थुम नै हो । सरकारले पहिले दिप्रुङमात्र राखेको थियो गाउँपालिकाको नाम । दिप्रुङतिर चार थुम छन् । चुईचुम्मतिर तीन थुम । गाउँसभाले सरकारले दिएको अधिकार प्रयोग गरी सबैको अस्तित्व रहने गरी दिप्रुङ चुईचुम्म राखेको हो ।

प्रकाशित मिति : १३ श्रावण २०७५, आइतबार  ११ : २९ बजे