शुभप्रभात राई / काठमाडौं
‘लाहुरेनी फूल’ उपन्यास पाठकसामु प्रस्तुत गर्दै सुष्मा रुपाबुङ राई साहित्य क्षेत्रमा प्रवेश गरेकी छिन्।
आइतवार राजधानीको अनामनगरस्थित मण्डला नाटकघरमा एक कार्यक्रमबिच साहित्यकार श्रवण मुकारुङ, पत्रकार एवं कवि प्रकाश गुरागाई, अभिनेत्री सिर्जना सुब्बा र लेखक सुष्मा रुपाबुङ राईले लाहुरेनी फूलको घुम्टो उघारेका हुन्।
सरल भाषामा महत्वपूर्ण समसमायिक घटनालाई किताबमा समेटिएको धारणा व्यक्त गर्दै साहित्यकार मुकारुङले भने, ‘पाठकले सरल तरिकामा बुझ्न सक्छ। तर, सरल तरिकामा लेख्न लेखकलाई धेरै कठिन पर्छ।
उनले कथाहरुमा हाम्रै समाज भित्रका महत्वपूर्ण विषयहरुलाई समेटिएको जिकिर गर्दै भने, ‘लाहुरेको बारेमा लेखिएको यो हाम्रै कथा हो। मलाई यो किताब पढ्दा कतै अल्छी लागेन। एकै पटकमा सकाए।’
धरै आदर्शवादी भाव बोकेको नारायण गोपाल अनि राजन मुकारुङको उपन्यासभन्दा मलाई उपन्यासभित्र पनि रमाइला कविता भेटिने बुद्धिसागरको जस्तो कृति मन पर्छ। उनले थपे, ‘यो उपन्यास पढ्दा बुद्धिसागरको कृति को याद दिलायो।’
पत्रकार एवं कवि गुरागाइले पूर्वतिर लाहुरेमा भर्ती हुन आकर्षित युवाहरुको कथाहरुलाई वास्तविकतामा लेखिएको टिप्पनि गर्दै भने, ‘उपन्यासमा पहिला लाहुरेमा भर्तीहुन नमान्नु र अहिले धरै प्रतिस्पर्धा हुने कुराको राम्रो उठान गरिएको छ।’
पूर्वको सामाजिक संस्कृति झल्किने कुरुहरु एवं पात्रहरु पनि प्राय किराँतीहरु नै भेटिने जिकिर गर्दै गुरागाईले भने, ‘माया प्रेमको कुराहरु सुन्दर तरिकामा दर्शाइएको छ।’
समाजलाई धेरै कोणमा प्रस्तुत गरिएको विचार राख्दै उनले भने, ‘यो किताबमा लिङ्गीय बोध र जातीय विभेदको कुरालाई राम्रोसंग उठान गरिएको छ।’
पाठकलाई कहि कतै अल्छी लाग्ने ठाउँ नभएको दाबी गर्दै उनले थपे, ‘पाठकलाई पढ्दै जादा नेपालबाट बेलायत अनि ब्रुनाईसमेत पुर्याउछ। यो लेखको अत्यन्तै राम्रो कला हो।’
अभिनेत्री सुब्बाले कृति जति पढ्दै गयो उत्तिनै आनन्द आउने खालको भएको कृतिको प्रशंसा गर्दै भनिन्, ‘नारीको आवाज बुलन्द तरिकाले उठान भएको छ। यस्तो कृति ‘लाहुरेनी फूल’ बाट चाडै अर्को बारुद झै बिस्पोट भएर निस्कनु पर्छ।’
कविहरुले परिकल्पनाकै संसार बनाउन सक्नु पर्छ, नभएको राज्य स्थापना गर्नु पर्ने दायित्व हुने धारणा राख्दै लेखक राईले भनिन्, ‘मसंग त्यति क्षमता नभए पनि, किताबमा आफुले देख्दै आएको यथार्थ सामाजिक कुराहराई समेट्ने प्रयास गरेको छु। परिवारको साथ पाएको कारण पनि लाहुरेनी फूल फूलाउन सफल भएको हुँ।’
उनले लाहुरेमा भर्ती हुने युवाहरुको मुख्य समस्याहरुलाई उठान गर्ने प्रयास गरेको बताइन्। भनिन्, ‘हजार जना युवाहरु लाहुरेमा भर्ती हुन प्रतिस्पर्धा गर्छन्, जम्मा दश जना भर्ती हुन्छन् बाँकी युवाहरुले आफ्नो पढाइ पनि रोकिसकेका हुन्छन्। अनि उनीहरु खाडी जान बाध्य हुने अवस्था नै मेरो पुस्तकको मुख्य विषय हो।’
फिनिक्स बुक्सले प्रकाशन गरेको, उक्त किताबको मुल्य ३७५ रुपैयाँ तोकिएको छ।