१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

१९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती



नेपाली सांगीतिक क्षेत्रको प्रख्यात ब्यान्ड १९७४ एडीले अमेरिकाका विभिन्न राज्य र शहरमा सांगितिक प्रस्तुती दिने भएको छ ।

आफ्नो स्थापनाको ३० औं वर्ष पुगेको अवसरमा ब्यान्डले अमेरिकामा सांगीतिक भ्रमण गर्न लागेको हो । भाषिक, मार्मिक र राष्ट्रियताको हिसाबले समेत महत्व राख्ने गीतको सर्जक यस ब्यान्डले ब्यान्डका सबै सदस्यहरुको सहभागितामा सांगीतिक प्रस्तुती दिन लागेको हो ।

फिरोज स्याङ्देन र एड्रियन प्रधान गायकद्वय रहेको यस ब्यान्डले ‘परेलीमा लुकाइ राख न’ । ‘चौबन्दी चोली र फूलबुट्टे साडीमा’, ‘गुराँसै फूल्यो बनैमा ’ सम्झी बस्छु, शताब्दी, जंगी निशान, पिंजडाको सुगा, अन एयर, हजार सपना लगायतका गीतहरु नेपालको सांगीतिक जगतमा पस्किएको छ । आहा प्रोडक्सनले यस ब्यान्डलाई अमेरिका भ्रमणमा ल्याएको हो । २२ बर्ष पछि अमेरिकामा १९७४ एडी ब्याण्डको सम्पूर्ण सदस्यको सहभागितामा सांगीतिक प्रस्तुति हुन लागेको आहा प्रोडक्सनका संस्थापक उज्ज्वल सिंहले जानकारी दिए ।

१९७४ एडी ब्याण्डले अमेरिकाका विभिन्न शहरहरु मिनिसोटा, सान फ्रान्सिस्को, सिकागो, डालस, भर्जिनिया, सियाटलमा प्रस्तुती दिने प्रोडक्सनका अध्यक्ष अनिल सायमीले बताए । मे ११ मा मिनिसोटावाट यात्रा सुरु गरेको ब्याण्डले सान फ्रान्सिस्कोमा मे १८, सिकागोमा मे १९, डालसमा मे २५, भर्जिनियामा जुन १ र सियाटलमा जुन ५ मा कार्यक्रमको तालिका रहेको छ । यस ब्याण्डमा फिरोज स्याङ्गडेन ,एड्रियन प्रधान , संजय श्रेष्ठ ,मनोज केसी ,मनोस सिंह तथा निराकार याक्तुम्बा रहेका छन् । साउण्ड इन्जिनियरको रुपमा विनयमान अमात्य, ग्राफिक्स प्रिन्जेटरको रुपमा केल्भिन मालाकार, लाइट ईन्जिनियरको रुपमा लक्ष्मण घिमिरे रहेका छन् भने कार्यक्रमको सञ्चालनका लागि पूर्व मिस नेपाल वर्ल्ड प्रियंका रानी जोशीले गर्दै छिन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : ०७ बजे