काठमाडौं । पुस २७ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा साहित्यकार कमला प्रसाईं सम्मानित भएकी छिन् । अमेरिकाको न्युयोर्कमा बस्दैआएकी प्रसाईं ‘अन्तर्राष्ट्रिय साहित्यिक विशिष्ट नारी रत्न अवार्ड’द्वारा सम्मानित भएकी हुन् ।
उनलाई उर्वरा फाउन्डेसन नेपालले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा पु¥याई विशष्टि योगदान दिएवापत उक्त सम्मान प्रदान गरेको हो । फूलको माला, दोसल्ला र ताम्रपत्रद्वारा समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रसाईंलाई सम्मानित गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले प्रसाईंले साहित्यका विभिन्न विधामार्फत् देशमा हुँदा होस् या विदेशमा हुँदा उल्लेख योगदान गरेको बताए । उनले भने, ‘यसकारण प्रसाईं यो सम्मानकी लायक हुन् ।’ कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पा, प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् माया ठकुरी र प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले साहित्यकार प्रसाईंको साहित्यिक तथा सामाजिक योगदानबारे चर्चा गरेका थिए ।
फाउन्डेसनकी अध्यक्ष देवकी अभिलाषी, प्रमुख संरक्षक विकु लामा र कवि रामगोपाल आसुतोसले फाउन्डेसनका गतिविधिमाथि प्रकाश पार्दै ‘साहित्य, कला, संस्कृति, संगीत र समाजसेवाका क्षेत्रमा फाउन्डेसनले विभिन्न कार्यहरू गर्दै आएको बताए । कार्यक्रममा अतिथि एवम गायक अशोक मुकारुङले एउटा लोकगीत गाएर सुनाएका थिए ।
वि. सं. २०२८ चैत्र २८ गते धरान, सुनसरीमा जन्मिएकी प्रसाईंका ‘चितामाथिको लाश’ नाटक, ‘मबिनाको मेरो जीवन’ र ‘साइनोभित्रको मान्छे’ दुई कविता संग्रह प्रकाशित छन् । उनका ‘नबिर्स मलाई’ र ‘नयनका आँसु’ नामक गीति एल्बम समेत प्रकाशित छन् । विभिन्न संघसंस्थामा आवद्ध उनले दर्जनौँ पुरस्कार र सम्मान प्राप्त गरेकी छिन् । आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिदै जाने अध्यक्ष देवकी अभिलाषीले बताइन ।