मन्त्रीसहितको हेलिकप्टर दुर्घटना: हिमाली जनताको सेवामा समर्मित थिए पर्यटन व्यवसायी आङछिरिङ
२०७५ फाल्गुन १६, बिहीबार ०९:५५

काठमाडौं । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री रवीन्द्र अधिकारीसहितको टोली हेलिकप्टरबाट पाथीभरा दर्शन गरी फर्कने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित सिस्नेखोला दुर्घटनामा परे ।
मन्त्री अधिकारीसहित हेलिकप्टरमा सवार सबैजनाको दुर्घटनामा परी निधन भयो ।
मन्त्री अधिकारीसँगै दुर्घटनामा चर्चित पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाले पनि ज्यान गुमाए ।
यति एयरलाइन्स, तारा एयर एवं हिमालय एयरको मालिकसमेत रहेका उनलाई नेपालको चर्चित पर्यटन व्यवसायिको रुपमा पनि चिनिन्छ ।
सोलुखुम्बुको साविक जुविङ गाविस, (पासाङ ल्हामु गाउँपालिका) मा जन्मेका शेर्पा, हाल ५८ वर्षका थिए ।
सन् १९९८ मा उनले यति एयरलाइन्स सुरु गरेका थिए । २१ वर्षमा चलिरहेको यतिले हाल साढे ९ सय मानिसलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।
शेर्पाको काठमाडौंको चर्चित गोकर्ण रिसोर्ट, भैरहवाको कसरा रिसोर्ट देखि ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सीहरु छन् ।
सगरमाथा क्षेत्रमा उनका ७ वटा होटल छन् ।
अन्नपूर्ण क्षेत्रमा पनि शेर्पाले तीन वटा होटल खोलेका छन् । पोखरा, सौराहा, बन्दीपुरमा पनि उनले होटल चलाएका छन् ।
पछिल्लो समय शेर्पाले राजधानीको लैनचौरमा फाइभ स्टार होटल ‘ला शेर्पा’ खोल्ने तयारी गरेका थियो ।
आफु हिमाली भेगमा जन्मेको हुनाले आङ छिरिङले हिमाली जनताको सेवामा चासो दिने गर्दै आएका थिए । उनले बिक्री भएको टिकटबाट केही रकम गरीबको सेवाका लागि छुट्याउने गरेको शेर्पा समुदायले जनाएको छ ।
आङ छिरिङका श्रीमती चन्दा शेर्पा र दुई छोरा पासाङ शेर्पा र नुर्वु शेर्पा छन् ।