माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पुनर्योगका लागि परेको निवेदनका आधारमा उत्तरपुस्तिका खोज्ने कार्य सुरु गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २८ गते एसईईको नतिजा सार्वजनिक गरेको थियो। नतिजामा चित्त नबुझेपछि ३३ हजार ८५१ विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिएका छन्।
उनका अनुसार निवेदनका आधारमा विद्यार्थीका उत्तरपुस्तिका पहिचान गर्ने कार्य सुरु भइसकेको छ। पुनर्योगको अन्तिम नतिजा सार्वजनिक हुन केही समय लाग्ने बोर्डले जनाएको छ।
“उत्तरपुस्तिका खोज्ने कार्य सुरु भइसकेको छ,” परीक्षा नियन्त्रक अधिकारीले भने, “हामी कुनै बिदा उपयोग नगरी बिहान–साँझ पूर्ण क्षमताका साथ काम गरिरहेका छौँ, त्यसैले केही समय धैर्य गर्न अनुरोध गर्दछु।”
पुनर्योगको नतिजा सार्वजनिक भएपछि विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था गरिनेछ। त्यसपछि पुनःपरीक्षणका लागि निवेदन दिन सकिने प्रक्रिया पनि खुला गरिने अधिकारीले बताए।
“पुनर्योगको नतिजा आएपछि उत्तरपुस्तिका हेर्न सूचना प्रकाशित गरिनेछ,” उनले भने, “उत्तरपुस्तिका हेरेपछि पुनःपरीक्षणका लागि पनि निवेदन दिन सकिने व्यवस्था गरिनेछ।”
यस वर्षको एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने एक लाख ४६ हजार ५०७ जना ‘ननग्रेडेड’ भएका थिए।
गत चैत २९ गते सम्पन्न एसईई परीक्षामा पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। जसमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र सात जना अन्य विद्यार्थी सहभागी थिए।









