न्युयोर्क । अमेरिकामा कागजपत्रबिहीन र टीपीएसवाहकलाई नागरिकता प्राप्त गर्न सक्ने मार्गमा लैजाने विधेयक अमेरिकाको तल्लो सदनबाट पारित भएको छ । ‘द ड्रिम एन्ड प्रमिस एक्ट अफ २०१९’ नामक विधेयक हालै हाउस अफ रिप्रेजेन्टिटिभबाट पारित भएको हो ।
४३५ मत रहेको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटिभमा विधेयक पारितका लागि २१८ मत आवश्यक पर्छ। यहाँ २३५ डेमोक्रेट छन् भने १९८ रिपब्लिकन । उक्त विधेयकमा मतदान हुँदा ७ जना रिपब्लिकनले समेत पक्षमा मतदान गरेका थिए । विधेयकको पक्षमा २३७ मत खस्यो भने विपक्षमा १८७ मत ।
पारित होला त?
हाउस अफ रिप्रेजेन्टिटिभबाट पारित भएको यो विधेयक अब माथिल्लो सदन सिनेटमा प्रस्तुत हुनेछ । सिनेटमा भने रिपब्लिकनको बहुमत रहेको छ । १०० सिट रहेको सिनेटमा ५३ जना रिपब्लिकन रहेका छन् भने ४५ जना डेमोक्रेट । बाँकी २ जना स्वतन्त्र ।
रिपब्लिकन यस विधेयकको खिलापमा रहेकोले विधेयक पारित हुन मुश्किल हुने अनुमान गरिएको छ । यसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत यसको विरोधमा रहेकोले सजिलो नरहेको बताइएको छ ।
यस्तो छ प्रावधान
यस विधेयकले ओबामाकालमा निर्वासन हुनबाट रोकिएका बालबालिका ‘डिफर्ड एक्सन फर चाइल्डहुड एराइभल्स(डाका)’लाई समेत समेटेको छ । विधेयकले तोकेको शर्तहरु पुरा भएमा ७ लाख डाकाधारीसमेत लाभन्वित हुने देखिन्छ ।
नागरिकता पाउनका लागि कम्तीमा पनि कलेज डिग्री गरेको वा दुई वर्षे प्राविधिक शिक्षा कुनै उच्च शिक्षालयबाट गरेको हुनुपर्नेछ । यसैगरी उनीहरुले कम्तीमा पनि तीन वर्ष अमेरिकी सेनामा सेवा दिएको वा तीन वर्ष यहाँ काम गरेको हुनुपर्नेछ । विधेयकमा यस्ता विद्यार्थीहरुलाई शिक्षाका लागि वृत्तिकोसमेत व्यवस्था गरिने उल्लेख छ ।