इरानको दक्षिणी आकाशमा खसालिएको अमेरिकी लडाकु विमान एफ–१५ई स्ट्राइक इगलका चालक दलका एक सदस्यलाई उच्च जोखिमपूर्ण सैन्य कारबाहीमार्फत सुरक्षित उद्धार गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बिहानै ती सैनिकलाई इरानी भूमिबाट सफलतापूर्वक निकालिएको जानकारी दिएका हुन् । इरान र अमेरिका–इजरायल युद्धको ३७औँ दिनमा घटेको यो घटनाले विश्वको ध्यान तान्नुका साथै दुई देशबीचको तनावलाई थप उत्कर्षमा पुर्याएको छ ।
गत शुक्रबार बिहान इरानी हवाई प्रतिरक्षा प्रणालीले अमेरिकी विमानलाई निसाना बनाएपछि विमानमा सवार दुई चालकदल सदस्यमध्ये एकलाई तत्कालै उद्धार गरिए पनि अर्का एक सैनिक दुई दिनसम्म बेपत्ता भएका थिए ।
इरानले ती सैनिकलाई पक्राउ गर्न आफ्ना नागरिकहरूलाई समेत सहयोगको आह्वान गरेको थियो, जसका कारण उनी शत्रुको नियन्त्रणमा पर्ने उच्च जोखिम थियो । अमेरिकी सेनाले आफ्ना हराइरहेका सैनिकको खोजीका लागि ब्ल्याक हक हेलिकप्टर र दर्जनौँ अत्याधुनिक युद्धक विमानसहित ‘घातक हतियार’ सुसज्जित टोली परिचालन गरेको थियो ।
उद्धार अभियानको क्रममा अमेरिकी र इरानी पक्षबीच भीषण सैन्य भिडन्त भएको बताइएको छ । प्रारम्भिक योजना अनुसार रातको समयमा छिटो गएर सैनिकलाई लिएर फर्कने रणनीति तय गरिए पनि इरानी पक्षको कडा प्रतिकारका कारण उक्त अभियान लामो समयसम्म लम्बिएको थियो । सो क्रममा एउटा अमेरिकी ब्ल्याक हक हेलिकप्टरमा क्षति पुगेको भए पनि त्यसले उडान जारी राख्न सफल भएको थियो । अन्ततः दुई दिनसम्म इरानको विकट पहाडी क्षेत्रमा लुकेर बसेका घाइते सैनिकलाई अमेरिकी कमान्डोहरूले सुरक्षित रूपमा बाहिर निकाल्न सफल भए ।
राष्ट्रपति ट्रम्पले यस अभियानलाई अमेरिकी इतिहासकै सबैभन्दा साहसी र गौरवपूर्ण खोज तथा उद्धार कार्यको रूपमा व्याख्या गरेका छन् । यता इरानले भने यस घटनाको औपचारिक पुष्टि नगरे पनि अमेरिकी विमानहरूलाई ठूलो क्षति पुर्याएको दाबी गरेको छ । यदि ती सैनिक इरानी सेनाको नियन्त्रणमा परेको भए अमेरिकाका लागि यो ठूलो कूटनीतिक र रणनीतिक झट्का सावित हुन सक्ने रक्षा विश्लेषकहरूको ठम्याइ छ ।








